सुकुनाको एसएमसी इनोभेक्स र अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम एकै दिन सम्पन्न


सुन्दरहरैँचा । सुकुना बहुमुखी क्याम्पसको १८ गते सम्पन्न खेल सप्ताहमा विजयी खेलाडीहरूलाई पुरस्कार वितरण साथै २१ गते देखी जारी एसएमसी इनोभेक्स २०८० कार्यक्रम सम्पन्न भएको छ । आज (बुधवार) दुवै कार्यक्रम सुन्दरहरैँचा नगरपालिका वडा नं.१२ स्थित सुकुना बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न भएको हो ।


क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा फागुन ३ गते देखि १८ गतेसम्म सञ्चालन भएको अतिरिक्त क्रियाकलापको कार्यक्रम खेल सप्ताहमा विभिन्न खेलमा विजयी भएका खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ । बिहानीसत्रमा भएको पुरस्कार वितरण कार्यक्रममा एथलेटिक्स तर्फका १ सय मिटर‚ २ सय मिटर‚ ४ सय मिटर‚ १ हजार ५ सय मिटर दौड‚ हाइजम्प र लङजम्पतर्फ विजेता छात्र तथा छात्राहरूलाई क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले प्रमाणपत्र वितरण गरेका छन् ।

त्यसै गरी छात्र र छात्रा तर्फको भलिबल खेलमा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने खेलाडी‚ बास्केटबल खेलमा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने खेलाडी‚ फुटबल खेलमा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने खेलाडी र क्रिकेट खेलमा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले नगद पुरस्कार‚ मेडल र प्रमाणपत्र वितरण गरे । अतिरिक्त क्रियाकलाप समितिका संयोजक विदुर सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उपप्राध्यापक खगेन्द्रराज दहालले गरेका थिए ।

एसएमसी इनोभेक्स कार्यक्रममा २१ गते देखी विज्ञान‚ प्रविधि तथा व्यावसायिक प्रदर्शनी गरिँदै आएको थियो । एसएमसी इनोभेक्स २०८० को आज अन्तिम दिन विभिन्न विद्यालय‚ क्याम्पस‚ समुदाय‚ व्यापारिक प्रतिष्ठान‚ अभिभावक‚ शिक्षक र विद्यार्थीहरू गरी २५ हजारभन्दा बढिले अवलोकन गरेको क्याम्पसका अधिकृत नवराज कोइरालाले बताए ।

एसएमसी इनोभेक्सको समापन कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले प्रदर्शनीमा विद्यार्थीले प्रस्तुत गरेका सिर्जनात्मक प्रस्तुतिको अवलोकन गर्दा गौरवान्वित भएको विचार व्यक्त गरे । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका डेपुटी डाइरेक्टर डा. डिल्लीराम प्रसाईँले सुकुना क्याम्पस पूर्वकै प्रतिष्ठित संस्थाका रूपमा स्थापित भएको तथा विद्यार्थीहरूका प्रयोगात्मक कार्य र व्यापारी प्रतिष्ठानको सहयोगबाट प्रभावकारी प्रदर्शनी गरेकोमा क्याम्पसको ख्याति बढेको बताए ।

प्रदर्शनीमा स्टल राख्ने विद्यार्थी‚ व्यापारी‚ प्रतिष्ठान र स्वयंसेवकहरूलाई सहायक क्याम्पस प्रमुख बलराम पोखरेल‚ विज्ञान कार्यक्रमका संयोजक टिकाप्रसाद उपाध्याय‚ बिबिए कार्यक्रमका डाइरेक्टर शङ्कर देवानको टोलीले प्रमाणपत्र वितरण गरेका छन् । प्रदर्शनीमा सहयोग गर्ने सबैलाई क्याम्पस प्रमुख अधिकारीले धन्यवाद ज्ञापन गरेका छन् ।

औपचारिक समापन कार्यक्रममा प्रदर्शनी व्यवस्थापन समितिका संयोजक एलिस ओझा र सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले स्वागत गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले गरेका हुन ।

तेस्रो चरणमा अपराह्न ३ः०० बजेदेखि विद्यार्थीहरूले सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सञ्चालन गरी SMC Innovex – 2080 समापन गरेको कार्यक्रम व्यवस्थापन समितिका संयोजक एलिस ओझाले जनाए ।

प्रतिक्रिया दिनुहोस्