बेलबारी । बेलबारी नगरपालिका वडा नं.११ स्थित लक्ष्मीमार्गमा रहेको माउण्ट एभरेष्ट सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको २४ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । फाल्गुन १७ गते देखी सुरु भएको २४ औँ वार्षिक उत्सव १८ गते शुक्रबार सम्पन्न भएको हो ।
समापन कार्यक्रमको उद्घाटन सांसद ज्ञानेन्द्र सुवेदीद्वारा दीप प्रज्वलन गरेर भएको थियो भने माउण्ट एभरेष्टका विद्यार्थीले आफै तयार गरेको ड्रोन उडाएका थिए । दीप प्रज्वलनसँगै ड्रोनलाई अतिथि तथा अभिभावकहरूलाई परिक्रमा गरे कार्यक्रम उद्घाटन थप रोचक भएको थियो ।
कार्यक्रममा विज्ञान प्रदर्शनी, सांस्कृतिक, चित्रकला, युकेजी स्तरका गणित लगायतको प्रदर्शनी पनि राखिएको थियो । साथै नृत्य, गायन, चित्रकला, स्टुडेण्ट अफ दि ईअर २०८० प्रतियोगिता भएको थियो । विद्यार्थीहरूको कला प्रस्तुतिसँगै विद्यालयका शिक्षिकाहरूले पनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा हास्य कलाकार उमेश राई (फुलन्देको आमा) को पनि प्रस्तुति रहेको थियो ।
कक्षा १० मा अध्ययनरत ईश्रिया न्यौपाने विद्यालयको स्टुडेण्ट अफ दि ईअर २०८० भएकी छिन भने कक्षा ९ का एन्जल ढकाल फष्ट रनर अप र कक्षा ८ का सरोज दाहाल सेकेण्ड रनर अप बन्न सफल भएका छन् । त्यसै गरी गायन प्रतियोगितामा कक्षा १० का साईमन कार्की प्रथम, अप्सन राई फष्ट रनर अप र रेबका सुन्दास सेकेण्ड रनर अप बन्न सफल भएका छन् ।
चित्रकला प्रतियोगितामा कक्षा ८ का रिन्छिन तामाङ प्रथम, एलिना रायमाझी फष्ट रनर अप र ईसुहाङ रार्य सेकेण्ड रनर अप भएका छन् । नृत्य प्रतियोगितामा डान्सिङ आइडल सिनियरतर्फ कक्षा १० का बिबिका राई प्रथम, सुस्ला राई फष्ट रनर अप र कक्षा ७ की स्मृति राई सेकेण्ड रनर अप भएकी छिन । जुनियरतर्फ कक्षा ४ की रिहाना न्यौपाने प्रथम, युकेजीका सिमोनिका भुजेल फष्ट रनर अप र आयुष्मा राई सेकेण्ड रनर अप भएको प्रधानाध्यापक जगत बस्नेतले जनाएका छन् ।
समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।