आर्थिक अनियमितताको खोजी गर्दा कबिर मा.विको वर्तमान व्यवस्थापन समितिलाई अयोग्यको उजुरी

वडाध्यक्ष कृष्ण गुरुङलाई लागेको दुई आरोप


बेलबारी । बेलबारीको एक विद्यालयमा चमेना घर निर्माणमा आर्थिक अनियमितता देखिएको छ । एक चमेना घरको संरचना निर्माणमा दुई पटक निकासा भएको भेटिएको छ ।

बेलबारी नगरपालिका वडा नं.२ स्थित लालभित्तीमा रहेको कबिर माध्यमिक विद्यालयमा रमिते सामुदायिक वन उपभोक्ता समूहले एक चमेना घरको संरचना निर्माण गरेर आर्थिक वर्ष २०७८/०७९ मा विद्यालयलाई हस्तान्तरण गरेको थियो । तर विद्यालयबाट प्रदेश अनुदानमा चमेना घर निर्माण गर्न पुनः रकम निकासा भएको छ ।

रमिते सामुदायिक वन उपभोक्ता समितिका निवर्तमान अध्यक्ष प्रेम राईका अनुसार रु.१ लाख ५२ हजार बराबरको चमेना गृह निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । २०७५ सालमा विज्ञान ल्याब तयारीको लागि रु.७ लाख सहयोग गरेको राईले जनाएका छन् । तर संस्थापक प्रधानाध्यापक दुर्गाप्रसाद गौतम २०४३ साल पुष १ गते देखी २०७८ साल वैशाख १७ गते सम्म प्रधानाध्यापकको जिम्मेवारीमा रही उमेर हदका कारण अनिवार्य अवकाश भएको हुँदा विद्यालयमा रहेका सम्पूर्ण चलअचल सम्पत्ति, महत्त्वपूर्ण साथै आवश्यक कागजातहरू प्रेमकुमार कार्कीलाई बरबुझारथ गरिएको प्रतिवेदनमा जिल्ला शिक्षा कार्यालय मोरङको अनुदान सहयोगमा विज्ञान प्रयोगशाला स्थापनाका लागि आवश्यक फर्निचर र रु.४ लाख ७८ हजार बराबरको विज्ञान सामाग्री खरिद गरिएको उल्लेख छ । रमितेबाट भएको रु.७ लाखको उल्लेख गरिएको छैन ।

प्रदेश सरकारको सहयोगमा प्राप्त भएको रकमबाट थप अर्को क्यान्टिनको संरचना भने निर्माण भएन । प्रदेश अनुदान रकम तत्कालीन विद्यालय व्यवस्थापन समिति र केही शिक्षकको मिलेमतोमा रु.२ लाख ७० हजार निकासा गरिएको प्रमाण भेटिएको छ । सो रकम कसरी निकासा भयो र उक्त रकम के गरियो भन्ने जानकारी वर्तमान समितिलाई, निर्वतमान व्यवस्थापन समिति र पूर्व प्रधानाध्यापक प्रेम कार्कीले जनाकारी नगराएको अध्यक्ष कृष्ण कुमार लिम्बु बताउँछन् ।

चमेना घरको निर्माणको अनियमिततासँगै विना शीर्षक लेखा अभिलेख नराखी निवर्तमान व्यवस्थापन समितिका दुई जनालाई भुक्तानी भएको पनि भेटिएको छ । विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष कृष्ण कुमार लिम्बुका अनुसार तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पुरीलाई विभिन्न मितिमा रु.२ लाख बराबरको चेक काटी भुक्तानी गरेको भेटिएको छ । बेलबारी २ का वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका निवर्तमान सदस्य बुन्दु सेन्चुरीलाई पनि रु.२५ हजार भुक्तानी भएको छ । तर रकम भुक्तानीको न त शीर्षककै छ, न लेखा अभिलेख नै राखिएको छ ।

विद्यालयको विभिन्न कामको कारोबारमा चेक दुई पटक कटिएको पुरी बताउँछन् । पुरीका अनुसार उक्त रकम व्यक्तिगत नाममा निकासा भएता पनि विद्यालयको बैँक खातामा केही समय पछि फिर्ता गरिसकेका छन् । उक्त रकम फिर्ता गरेको प्रमाण बैँक लेनदेन विवरणमा हर्न सकिने उनले बताए । चमेना गृह निर्माणको लागि प्रदेश अनुदानको रकम निकासबारे प्रश्न गर्दा अस्पष्ट रहेको जनाउँदै पूर्व प्र.अ प्रेम कार्कीले उत्तर दिनु पर्ने बताएका छन् ।

कार्कीका अनुसार बुन्दु सेन्चुरीले रु.२५ हजार फिर्ता गरिसकेकी छिन । प्रदेश अनुदानको विषयमा रु.२ लाख ७० हजार बचत रहेको कार्की बताउँछन् । तर सामाजिक परीक्षण मार्फत हेर्ने हो भने बचत नभएको वर्तमान व्यवस्थापन समिति बताउँछन् । यस विषयमा अहिले खोजी कार्य भइरहेको छ । वर्तमान विद्यालय व्यवस्थापन समितिले चमेना घरको अनुदान रकम कहाँ हरायो, कुन शीर्षकमा कसरी अभिलेख नराखी पूर्व अध्यक्ष र सदस्यलाई रकम भुक्तानी भयो भन्ने प्रश्नको उत्तर खोज्दै छ ।

तर व्यवस्थापन समितिलाई गरिब जनाताका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयमा भएको यस्तो अनियमितताको खोजी गर्दा, अयोग्य प्रमाणित गर्ने तयारी भइरहेको वर्तमान अध्यक्ष लिम्बु बताउँछन् । विद्यालयको संरक्षण र विकासको लागि आर्थिक अनियमितताको विरुद्ध चालेको कदमले आफ्नो नेतृत्वको व्यवस्थापन समितिलाई उजुरी पर्न थालेको लिम्बु बताउँछन् ।

बेलबारी नगरपालिका वडा नं.२ का अध्यक्ष कृष्ण बहादुर गुरुङको मिलेमतोमा योग्यता नपुग्ने कृष्ण कुमार लिम्बुलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाइएको भनी उजुरी परेको छ । तर के कारणले अयोग्य हो भन्ने खुल्न सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाई मोरङलाई सुझाव कार्यान्वयन पत्रमा अयोग्यको कारण खुलेको छैन । बेलबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालयले पठाएको पत्रमा पनि प्रचलित कानुनको अधीनमा र विद्यालय व्यवस्थापन समिति गठन गर्न गराउन सुझाव दिने भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निर्णय भई आएको हुँदा कार्यान्वयन गर्नु गराउनु अनुरोध गरेको छ । तर अयोग्यको कारण केही खुलाएको छैन ।

आफ्नो नेतृत्वको समिति अयोग्य भनेर उजुरी गर्नु र प्रश्न उठाउनु सिङ्गो बेलबारीमा विद्यालय व्यवस्थापन समिति माथिको प्रहार रहेको लिम्बु बताउँछन् । व्यवस्थापन समिति निर्वाचनको सबै प्रक्रिया वैधानिक रूपमा पुरा गरेर सर्वसम्मत कुनै दाबी विरोध विना निर्वाचित हुँदा पनि अयोग्य भए बेलबारी नगरपालिका कार्यालयको शिक्षा शाखा, विद्यालयको प्रशासन, अभिभावक, शिक्षक लगायत निर्वाचन प्रक्रियामा उपस्थित सबै अयोग्य हुने लिम्बुले बताए । विद्यार्थीलाई प्रदान हुने दिवा खाजा, नेत्र हीन विद्यार्थी अध्ययन अध्यापनमा हुने आर्थिक कारोबारमा पनि अनियतता देखिएको बताएका छन् । सीमित व्यक्तिहरूबाट प्रमाण लुकाउने र नष्ट गर्ने प्रयास भइरहेको लिम्बु बताउँछन् ।

सीमित व्यक्तिको स्वार्थमा विद्यालय सक्काउन सकैलाई नदिने लिम्बु बताउँछन् । २०७९ साल चैत १० गते शुक्रवार बेलबारी नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत एलिना बस्नेतको संयोजकयतामा विद्यालय व्यवस्थापन समिति, लिम्बुको नेतृत्वमा सर्वसम्मत कुनै दाबी विरोध नभई गठन भएको हो ।

शिक्षा शाखा अधिकृत बस्नेतका अनुसार व्यवस्थापन समितिलाई विद्यालयको कामकाजमा अवरोध भएसँगै प्रधानाध्यापकलाई पनि प्रशासनिक निर्णय लिन नैतिक सङ्कट हुने छ । प्रधानाध्यापक अभिभावक छनोट समितिको सदस्य रहेर निर्माण भएको व्यवस्थापन समिति अयोग्य भएको उजुरी पर्दा वर्तमान प्र.अ इन्द्र बहादुर थापालाई पनि नैतिक सङ्कट पर्ने देखिन्छ ।

अहिले सम्म विद्यालयमा रहेको विवादको कारण सामाजिक लेखा परीक्षण हुन सकेको छैन । दोहोरो लेखा प्रणाली अनुसार अभिलेख नराखिएकोले, क्यान्टिन निर्माणमा भएको अनियमितता, पूर्व समितिले विल भरपाई उपलब्ध गराउन नसकेकोले र रु.२ लाख २५ हजारको लेखा अभिलेख नभएकोले सामाजिक लेखा परीक्षण गर्न नसकेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष होम बहादुर मगरले बताए ।

वडाध्यक्ष कृष्ण गुरुङलाई लागेको दुई आरोप

बेलबारी नगरपालिका वडा नं.२ का अध्यक्ष गुरुङलाई कबिर मा.विमा चलिरहेको विवादमा दुई आरोप लागेको छ । गुरुङको मिलेमतोमा विद्यालय व्यवस्थापन समिति कृष्ण लिम्बुको नेतृत्वमा चयन गरियो र गुण्डागर्दी शैलीमा माइनेट खोसिएको भन्ने आरोप छ ।

गुरुङ दुवै आरोप गलत भएको बताउँछन् । गुरुङले भने, ‘विद्यालय व्यवस्थापन समितिको गठन २०७९ चैत १० गते तत्कालीन प्र.अ प्रेम कुमार कार्की, सहायक प्र.अ धुब्र नेपाल, शिक्षक शिक्षिका, नगरपालिकाको शिक्षा शाखा अधिकृत एलिना बस्नेतको संयोजकयतामा सम्पूर्ण प्रक्रिया पूर्ण गरी भएको हो । उक्त प्रक्रियाको कानुनी त्रुटि हर्ने जिम्मेवारी विद्यालयको प्रशासन, नगरपालिकाको शिक्षा शाखाबाट प्रतिनिधित्व गर्नु हुने अधिकृतको हो । जनप्रतिनिधिले सहजिकरण मात्र गर्ने हो, प्रक्रियामा वडा कार्यालय र वडाध्यक्षको कुनै हस्तक्षेप हुनै सक्दैन ।’

शिक्षा महासङ्घ, नगर समिति बेलबारीले २०८० माघ २८ गते विद्यालयको कार्यालयबाट जबरजस्ती बैठक पुस्तिका वडाध्यक्ष गुरुङले लगेको र प्र.अलाई अपमान गरेको भन्दै बैठक पुस्तिका फिर्ता गर्न आग्रहसहित चेतावनी स्वरूप विज्ञप्ति पत्र फाल्गुन २ गते सार्वजनिक गरेको थियो । तर उक्त आरोप मात्र प्रोपोगन्डा रहेको गुरुङ बताएका छन् ।

गुरुङका अनुसार विद्यालयले राष्ट्रपति शैक्षिक सुधारका कार्यक्रमका योजनाहरू मागको मसान्तसम्म पठाउनु पर्ने हुन्छ । माघ २८ गते सोही कार्यको लागि विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने विषयमा प्र.अ इन्द्र बहादुर थापाले नगरपालिकाको शिक्षा शाखा अधिकृत एलिना बस्नेतको मौखिक निर्देशनमा बैठक बस्न नमाने पछि व्यवस्थापन समितिको उपस्थितिमा आफुलाई माइनट हस्तान्तरण गरेको गुरुङले बताए ।

गुरुङका अनुसार त्यस दिन विद्यालय व्यवस्थापन समितिको बैठकका लागि भेला हुँदा करिब ५ घण्टासम्मको पख्राई पछि मात्र माइनट भेटिएको थियो । कबिरको योजना तथा कार्यक्रम छुटे जवाफदायी प्र.अ हुनु पर्ने गुरुङले बताए । माइनट ग्रहण गर्दा विद्यालय व्यवस्थापन समिति वैधानिक छ, प्र.अ पनि वैधानिक छ । महत्त्वपूर्ण निर्णयहरू छिटोभन्दा छिटो गरेर आउँदै गरेको एसइई र कक्षा ८ को परीक्षाको विषयमा छलफल गर्न समेत आग्रह गरेको गुरुङले बताएका छन् ।

उक्त दिन माइनट ग्रहण गरेको भिडियो प्रमाण पनि गुरुङले उपलब्ध गराएका छन् । भिडियोमा गुरुङले कुनै जबरजस्ती नगरी बैठक पुस्तिका लिएका छन् । माइनेटमा भएका महत्त्वपूर्ण दस्ताबेजहरू सुरक्षित गर्ने मनसायका साथ सुरक्षितसाथ राखिरहेको गुरुङले जनाएका छन् । यसै विषयमा व्यवस्थापन समितिका अध्यक्ष लिम्बुले पनि शिक्षा महासङ्घ, नगर समिति बेलबारीको निर्णय र प्रेस विज्ञप्ति अपरिपक्व रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्