बागदेवी सामुदायिक वन उपभोक्ता समूहको १३ औँ साधारणसभा सम्पन्न


बेलबारी । बागदेवी सामुदायिक वन उपभोक्ता समूहको १३ औँ साधारणसभा सम्पन्न भएको छ । बेलबारी वडा नं.२ मा रहेको बागदेवी सामुदायिक वन उपभोक्ता समूहको आफ्नै भवनमा साधारणसभा शनिवार सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा मोरङ जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे, विशिष्ट अतिथि तथा बेलबारी नगरपालिका वडा नं.२ का अध्यक्ष कृष्ण गुरुङ, सब डिभिजन कार्यालय सालकपुरका कार्यालय प्रमुख विजय पुर्जा लगायत अपस्थिति अतिथिहरूद्वारा बिरुवामा पानी हालेर भएको थियो । वार्षिक क्रियाकलाप प्रतिवेदन तथा प्रस्तावित कार्ययोजना समूहका सहसचिव राजकुमार धिमालले प्रस्तुत गरे ।

समूहले सामाजिक, खेलकुद, पुर्वधार, साहित्य तथा सांस्कृतिक विकासको निम्ति सहयोग तथा लगानी गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । समूहले उपभोक्ता कल्याण कार्यक्रम, स्वास्थ्य उपचार सहयोग, गरिबी न्यूनीकरण कार्यक्रम, शितलहरमा सार्वजनिक स्थलका लागि दाउरा वितरण कार्य खानेपानी व्यवस्थापनमा सहयोग गर्दै आएको सहसचिव धिमालले जनाए ।

समूहले विगतमा कोरोना महामीरको बेला महत्त्वपूर्ण सहयोग रहेको थियो । कोरोना नियन्त्रणमा बेलबारी नगरपालिकासँगको सहकार्यमा समूहको भवनमा कोरेन्टाई प्रदान गरेको थियो । त्यस बेला कोरोनाबाट प्रभावित बिरामीहरूको उपचारको लागि समूहको भवन अस्पताल नै थियो भन्दा फरक पर्दैन ।

आर्थिक प्रतिवेदन समूहका कोषाध्यक्ष रमा शर्माले प्रस्तुत गरिन । शर्माका अनुसार समूहको यस आर्थिक वर्षको आम्दानी रु.१३ लाख ४७ हजार रहेको छ । खर्च रु.३२ लाख २० हजार भएको शर्माले जनाएकी छिन । असार मसान्त सम्म सिद्धार्थ बैङ्कमा रु.६ लाख ४६ हजार र नगद रु.१ लाख ९ हजार रहेको बताइन ।

लेखा तथा सुपरिवेक्षण समितिको आर्थिक प्रतिवेदन अनुसार २०७८/०७९ आर्थिक वर्षको सुरुको नगद मौज्दात १ लाख २५ हजार, बैङ्क मौज्दात ५२ हजार, जम्मा आम्दानी ५५ लाख ११ हजार, भुक्तानी दिनुपर्ने थप ३२ हजार ९ सय ९९, ह्रास खर्च व्यवस्थापन ३ लाख २८ हजार रहेको छ । २०७९÷०८० को सुरुको नगद मौज्दात ९१ हजार, बैङ्क मौज्दात २४ लाख, जम्मा आम्दानी १३ लाख ७४ हजार, भुक्तानी दिनुपर्ने थप १ लाख ५४ हजार, ह्रास खर्च व्यवस्थापन ३ लाख ५ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रमको सञ्चालन समूहका सचिव सिताराम खड्काले गरेका थिए । उपाध्यक्ष सिता बास्तोलाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम समूहका अध्यक्ष रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्