दुर्गा मा.विमा कराँते प्रशिक्षण नियमित गरिने


उर्लाबारी । विद्यार्थीका लागि शारीरिक विकास, आत्म सुरक्षा र अनुशासनमा टेवा पुर्‍याउने हेतुले कराते प्रशिक्षण सुरु गरिएको छ । उर्लाबारी ३ स्थित दुर्गा माध्यमिक विद्यालयले औपचारिक कार्यक्रम गरी प्रशिक्षण शुभारम्भ गरेको छ ।

नेपाल सितेरियो कराँते संघ मोरङ शाखाको प्राविधिक सहयोग तथा प्रशिक्षणमा जिल्लामै पहिलोपल्ट यहाँका विद्यार्थीलाई कराँते खेलमा समावेश गराइएको हो । शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति सहभागी गराई प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको थियो ।

शैक्षिक क्यालेण्डर बनाएरै विद्यालयका विद्यार्थीहरूलाई नियमित कराँते अभ्यास गराइने प्रधानाध्यापक शारदा पाण्डेले बताइन् । प्रमुख अतिथि उर्लाबारी ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीले कार्यक्रम उद्घाटन गरे । दुर्गा माविमा अध्ययनरत ६ वर्ष उमेर समूह माथिका विद्यार्थीलाई कराँते प्रशिक्षण दिइने छ ।

सितोरियो कराते संघ मोरङका कार्यबहाक अध्यक्ष इन्द्र लामाका अनुसार खेलको विकास, खेलाडी उत्पादन तथा प्रवर्धन गर्न प्रत्येक सामुदायिक विद्यालय स्तरमा कराते प्रशिक्षण नियमित गराउने लक्ष्य लिइएको छ । विद्यार्थीलाई ज्ञान, कौशल दिने र विचारशील बनाउने माध्यम कराँते भएको उल्लेख गर्दै संघका कावा.अध्यक्ष लामाले शारीरिक तथा मानसिक रूपमा स्वस्थ मानिस तयार पार्ने आफूहरूको उद्देश्य रहेको जानकारी गराए ।

कराते खेलमा रुचि हुने विद्यार्थीले नियमित सिक्न पाउन व्यवस्था मिलाइएको प्रअ पाण्डेको भनाई छ । सो विद्यालयमा कार्यरत शिक्षक इन्द्र लिङ्देन आफै कराँते ब्ल्याकबेल्ट हुन् । उनकै जोडबलमा विद्यालयमा प्रशिक्षण कार्यक्रम थालनी गरिएको हो । विद्यार्थीहरूलाई ब्लाकबेल्ट पाल्देन लामाले प्रशिक्षण गराउने बताइएको छ ।

उद्घाटन कार्यक्रममा भने ब्लाकबेल्टहरु उर्लाबारीका सन्दीप राई र लेटाङकी इक्सा लिम्बूले विद्यार्थीहरूलाई करिब एक घण्टा कराँते प्रशिक्षण गराएका थिए । कार्यक्रममा शिक्षक विकास सुवेदीको सञ्चालन तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारसमणि कुइँकेलको सभापतित्व रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्