बेलबारीको मालपोत कार्यालयले २६ महिनाको खानेपानी महसुल भुक्तानी नगर्दा धारा कटौती


बेलबारी । खानेपानीको मासिक शुल्क नतिरे पछि मालपोत कार्यालय बेलबारीमा जडान गरिएको खानेपानी काटिएको छ । बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बेलबारी वडा नं. ३ मा रहेको मालपोत कार्यालयले २६ महिनाको शुल्क नतिरेको कारण खानेपानी कटौती गरेको हो ।

बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार पूर्व समिति र हालको नयाँ कार्य समितिद्वारा शुल्क भुक्तानीको लागि पटक पटक पत्र पठाउँदा पनि बेवास्ता गरे पछि मालपोत कार्यालयमा जडान गरिएको खानेपानीको धारामा जरिवानासहित २६ महिनाको शुल्क भुक्तानी नगरे सम्म पानी आपूर्ति कटौती गरेको छ ।

संस्थाका अनुसार मालपोत कार्यालयले २६ महिनाको शुल्क सहित रु.१ हजार भुक्तानी गर्नु पर्ने हुन्छ । मालपोत कार्यालयसँगै अन्य व्यक्तिको घरमा पनि खानेपानीको शुल्क भुक्तानी नगर्ने उपभोक्ता रहेको संस्थाले जनाएको छ । संस्थाले माघ ७ गते मासिक महसुल भुक्तानी नगर्नेको धारा काट्ने सूचना सार्वजनिक गरेको थियो । सोही सूचना अनुसार बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आज (बुधवार) देखी महसुल भुक्तानी नगर्नेहरूको धारा काट्ने कार्यमा सुरु गरेको छ ।

कारबाहीमा परेको कोही उपभोक्ताले मासिक शुल्कसहित जरिवाना भुक्तानी नगरेको अवधि भित्र धाराबाट खानेपानी चुहावट भए रु.११ हजार १ सय ११ थप जरिवाना गर्ने संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्