लेटाङमा शालिक विवाद : विद्यालय परिसरमै शालिक राख्न विप्लवको पार्टी माग


उर्लाबारी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको लेटाङमा ‘सहिद’को शालिक तोडफोड हुनुमा माओवादी केन्द्रलाई दोष दिएको छ । लेटाङ ५ स्थित शिक्षा विकास मावि अगाडी वर्षौँ अघिदेखि राखिएको माओवादी जनयुद्धका सहिद हरि भट्टराईको सालिक निकालेर माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताले गत माघ ४ गते लेटाङ बसपार्कको खाली स्थानमा शालिक ठड्याएको थियो ।

लेटाङ नगरपालिकाका नगर प्रहरीले सो शालिक हटाएपछि त्यो कार्यको माओवादी केन्द्रले विरोध जनाउँदै आएको छ । यसै विषयलाई लिएर विप्लव नेतृत्वको नेकपाले सहिद भट्टराईको शालिकलाई पुर्ववत अवस्थामै शिक्षा विकास मावि परिसरमै राखिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको हो । ‘लेटाङ ५ स्थित शिक्षा विकास मावि परिसरमा फलैँचासहित सो शालिकलाई पुनः ससम्मान स्थापित गरियोस्’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै, साबिकका लेटाङ, भोगटेनी, जाँते र वाङ्गी गाविसमा सहादत प्राप्त गर्ने १६ जना सहिदको नाममा सहिद स्मारक पार्क बनाउन पनि विज्ञप्तिमा माग गरिएको छ । नेकपाका पूर्वी मोरङ जिल्ला सचिव डिल्ली सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – ‘नाटकीय ढङ्गबाट भएका दुवै घटनाले नेकपा मोरङको गम्भीर ध्यानाकर्षण भएको छ ।’ शालिक राखिएको स्थान वरपरका बासिन्दालाई जानकारी नगराएको र बिरालोले न्याउरा सारे जसरी अन्यत्र स्थानान्तरण भएको भन्दै माओवादी केन्द्रलाई दोष दिएको नेकपाले नगरपालिकाको पनि गल्ती औँल्याएको छ ।

लेटाङ नगरपालिकाले सुरक्षाका नाममा प्रहरी कार्यालयमा शालिक राखेको जनाउँदै सो कार्य संवेदनशील र अराजक भएको टिप्पणी गरिएको छ । शालिक हटाउने र राख्नेजस्ता कार्य दुःखद परिस्थिति भएको जनाउँदै दुवै पक्षलाई समस्या समाधान गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्