मोरङको सुन्दरहरैँचामा एक भाले हात्तीको गोली हानी हत्या


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा एक भाले हात्तीको गोली हानी हत्या भएको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं.१० स्थित जनजागरण सामुदायिक वन भित्र गोली हानी हत्या भएको हो ।

पोस्टमार्टम रिर्पोट अनुसार गोली हानी हत्या गरेको प्रमाणित भएको छ । भाले हात्तीको घाटीको बायाँ पटी गोली लागेको भेटिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका प्राविधिक टोलीले हात्तीको शव फेला परेको ठाउँमा नै पोस्टमार्टम गरेका थिए । पोस्टमार्टमबाट हात्तीको शरीरबाट एक गोली र दुईवटा सानो सानो काठको टुक्रा भेटेका छन् ।

आइतबार फेला परेको मृतक हात्तीको पुच्छर भने काटिएको थियो । करिब १२ वर्ष उमेरको उक्त भाले हात्तीको पुच्छर गायब थियो । हात्तीको मृत्युको प्रकृति हर्दा मानिसद्वारा आत्मरक्षा नभएर चोरी सिकारी भएको देखिन्छ ।

पोस्टमार्टमको क्रममा हात्तीको दुवै ७.५ इन्च गालाई भएको १५.५ इन्च लम्बाई बायाँ दाह्रा र १६ इन्च लम्बाइको दायाँ दाह्रा निकालिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट पोस्टमार्टम गर्न आएका प्राविधिक टोलीले उक्त गोली, काठका टुक्रा र दाह्रा डिभिजन वन कार्यालय मोरङका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेलाई बुझाएका छन् ।

अहिले मानिससँगै हात्ती पनि त्रसित भएको डिभिजनल वन अधिकृत घिमिरे बताउँछन् । घिमिरेले क्षति न्यूनीकरणमा ध्यान दिएर जोगिनु पर्ने बताएका छन् । भाले हात्तीको मृत्युबारे अनुसन्धानबाट हत्या भएको प्रमाणित भएसँगै सम्बन्धित सिकारी भेटिए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तरगत कानुनी कारबाही अनुसार १५ वर्ष सम्म जेल र १० लाख सम्म जरिमाना लाग्ने घिमिरेले जानकारी गराएका छन् ।

हात्तीको शव फेला परेको ठाउँदेखि पश्चिम तर्फ करिब १०० मिटर टाढा सम्म रक्तम्य थियो । पश्चिम तर्फ सय मिटरको दुरीमा एक रुखमा लाइटर र बारुदलागेको पोलेथिन पनि भेटिएको थियो । सोही रुखबाट गोली हानेको हुन सक्ने स्थानीयहरू बताउँछन् ।

सब-डिभिजन वन कार्यालय सलकपुर सुन्दरहरैँचाका अनुसार करिब ५ लिटर हात्तीको रगत बगेको थियो । हात्तीले मृत्यु अवस्थामा शौच गरेको गोबर पनि शवसँगै थियो । शवको अवस्था हर्दा पिडादायक र कठिन पूर्वक भाले हात्तीको मृत्यु भएको देखिन्छ ।

सुन्दरहरैँचा, बेलबारी साथै छिमेकी पालिकाहरूमा मानिसहरू हात्तीबाट आतङ्कित भएको करिब १ महिना भन्दा बढी भइसकेको छ । बेलबारीमा नै लेटाङ निवासी एक पुरुषको हात्तीको कारण मृत्यु भएको थियो । अन्नबाली र फलफूलका खेतबारी साथै घरहरू भत्काएर लाखौँको क्षति गरिरहेको कारण नागरिक पनि आतङ्कितसँगै आक्रोशित पनि छन् ।

हात्ती प्रति आक्रामक भएर आक्रमण गर्नु, मार्ने कार्यले समस्याको समाधान नहुने सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईँ बताउँछन् । आक्रमण हैन हात्तीबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्दै आफ्नो ज्यान जोगाउन गुरागाईँले नागरिकलाई आग्रह गरेका छन् ।

वर्षमा एक पटक हात्ती आउने गरेको वडा नं.१० का अध्यक्ष राजकुमार राईले बताए । गत वर्ष पनि वडा नं.१० का एक वृद्धको हात्तीबाट मृत्यु भएको थियो । सम्पत्तिको क्षति भए नेपाल सरकारले क्षतिपूर्ति दिने जानकारी गराउँदै हात्ती मार्ने जघन्य अपराध कोही कसैले गर्नु नहुने राईले बताए ।

 

प्रतिक्रिया दिनुहोस्