कमल कोइराला विरुद्ध दाबी विरोध : स्थायी शिक्षकको हकमा के हुन्छ ?


बेलबारी । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूह बेलबारीको पुस १८ गते हुन गइरहेको निर्वाचनमा उम्मेदवार मनोनयन दर्ता अवधि सम्म निर्विरोध भएका कमल कोइरालाले आज (शनिवार) दाबी विरोध खेप्नु परेको छ । बेलबारी वडा नं.११ का प्रेम बान्तवा किराँतीद्वारा अनुगमन तथा न्यायिक समितिको संयोजकमा कोइराला विरुद्ध दाबी विरोध निवेदन पेश भएको हो ।

दाबी विरोध निवेदनमा बेलबारी वडा नं.४ मा रहेको कसेनी मा.विका स्थायी शिक्षक रहेकोले प्रचलित कानुन अनुसार समितिमा बस्न नमिल्ने उल्लेख गर्दै छानबिनको माग गरिएको छ । सामुदायिक वनको आर्थिक कार्य विधि २०७३ को दफा ६४ अनुसार कोइरालाको निर्वाचन समितिले निर्णय गर्ने सव-डिभिजन वन कार्यालय बेलबारीका अधिकृत दीपेश मिश्रले बताए ।

मिश्रका अनुसार दफा ६४ मा गौरसरकारी, सरकारी संस्थामा कार्यरत कर्मचारी, काष्ठ व्यवसायी समितिमा रहन नपाउने उल्लेख छ । तर समिति भन्नाले मूल समिति वा उपसमिति पनि हो भन्ने विश्लेषणसहितको निर्णय निर्वाचन समितिले गर्ने मिश्रले जनाएका छन् ।

३३ प्रतिशत महिला परिषद् सदस्य विषयमा पनि अहिले विवाद सृजना भएको छ । बेलबारी ४ निवासी केशव गुरुङका अनुसार कुल परिषद् सदस्य संख्या ४०१ मा ३३ प्रतिशत महिला १३५ हुनु पर्नेमा १०३ जनाको मात्र सहभागिता रहेको छ । वडा नं.४ मा पनि ९५ मा ३३ प्रतिशत महिला ३१ जना हुनु पर्नेमा २२ जनाको मात्र सहभागिता रहेको गुरुङले बताए ।

राजनीति दल, सव-डिभिजन वन कार्यालय, नगरपालिकाको प्रतिनिधि, वडाका अध्यक्षसहितको निर्माण भएको समन्वयन समितिले बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको विधान अनुसार प्रत्येक वडाबाट ३३ प्रतिशत महिला सहभागी गराउने गरी परिषद् सदस्य बनाउने निर्णय भएको मिश्र बताउँछन् । वडा भेलाद्वारा ३३ प्रतिशत महिलासहितको परिषद् सदस्य पठाउने जिम्मेवारी वडा कार्यालयको रहेको मिश्रले बताए । परिषद् सदस्यको विवादलाई लिएर निर्वाचन रोक्न प्रयत्न गर्नु नहुने, समाधान गरेर निर्वाचन गर्नै उचित हुने मिश्रको सुझाव रहेको छ । निर्वाचन रोकिए सिङ्गो बेलबारीवासीलाई नै ठुलो क्षति हुने उनले बताएका छन् ।

अध्यक्ष पदको उम्मेदवारमा शम्भु भट्टराई र पर्वत राईले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा बिन्दुकला गुरुङ र सहसचिवमा राजन प्रसाईँ निर्विरोध निर्वाचित भएका छन् । गुरुङ र प्रसाईँको एकल उम्मेदवारी र कुनै दाबी विरोध नपरेकोले निर्विरोध निर्वाचित भएका हुन ।

जम्मा ३९ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको थियो । उपाध्यक्षमा रिता कोइराला निरौला, र निशा किरण चाम्लिङ राई, सचिवमा सुजित बस्नेत र प्रकाश लिम्बुको उम्मेदवारी रहेको छ । खुल्ला सदस्यमा जीवन कुमार राई, दिल बहादुर श्रेष्ठ, सुजित कुमार राई, बलराम शंकर, तारानि कुमार बुढाथोकी, गोपाल तामाङ, राम कुमार योन्जन, नारायण गुरुङ, केशव प्रसाद घले, सनम लिम्बुले उम्मेदवारी दिएका छन् ।

महिला सदस्यमा रमिला राई, अर कुमारी घिमिरे (सिता), लक्ष्मी अर्याल, मनिता लिम्बु सोनिया राई, शान्ता तामाङ मोक्तानको उम्मेदवारी रहेको छ । निर्वाचनमा आन्तरिक लेखा समिति संयोजकमा हरिप्रसाद सुवेदी र मन कुमार गुरुङबिच प्रतिस्पर्धा हुने भएको छ । खुल्ला सदस्यमा भक्त बहादुर गुरुङ, चूडामणि अधिकारी, शिव प्रसाद काफ्ले, महिला सदस्यमा मन कुमारी गिरी, पवित्रा राईको उम्मेदवारी रहेको छ ।

त्यस्तै अनुगमन तथा न्यायिक समितिको खुल्ला सदस्यमा मनिल मोते, मोहन प्रसाद पोखरेल, शिवनाथ धिमाल, महिला सदस्यमा शान्ति कुमारी चौधरी, चान्सरी चौधरी र लक्ष्मी तामाङको उम्मेदवारी रहेको छ । निर्वाचन समितिको संयोजकमा लीला प्रसाद आचार्य, सचिवमा किशोर भण्डारी, सदस्यमा नारायण कुमार सुनुवार, केशव थापा मगर, सन्तोष भट्टराई, अर्जुन कार्की र गोविन्द मानसिंह अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्