शिक्षकद्वारा शिक्षकको विरोध : घण्टीका नगर अध्यक्ष नै शिक्षण पेशामा !


उर्लाबारी । राजनीतिक दलको कार्यक्रममा शिक्षकले सहभागिता जनाएको भन्दै अरू पार्टी समर्थक शिक्षकको उछितो काढ्दै आएको दलका नेता नै शिक्षण पेशामा रहेको पाइएको छ । घण्टी छाप राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारीले केही दिनयता स्थानीय राधिका मावि उर्लाबारी ६ मा कार्यरत शिक्षक प्रेमप्रसाद भट्टराईको व्यक्तिगत तहमै ओर्लिएर विरोध जनाउँदै आएको छ ।

शिक्षक भट्टराई एमालेको सभामा भाग लिन तेह्रथुमको वसन्तपुर पुगेको भन्दै रास्वपाका कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालमा चर्को विरोध मात्रै गरेका छैनन्, उर्लाबारी नगरपालिका कार्यालय अगाडी विरोध प्रदर्शनसमेत गरे ।

कतिसम्म भने ‘कि बन शिक्षक कि नेता, नबन दुईवटा’ भन्दै घण्टीका कार्यकर्ताले नगरपालिका गेट अगाडी प्लेकार्ड बोकेर धर्ना समेत कसे । तर, एउटा दल विशेषको ओत लागेर विरोध प्रदर्शनको अगुवाइ गर्ने व्यक्ति नै शिक्षण पेशामा रहेको खुल्न आएको छ ।

रास्वपा उर्लाबारी नगर समितिका अध्यक्ष रहेका उमेशजंग थापा झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएको पाइएको हो । उनी सो क्याम्पसको आइटी विषयका प्राध्यापक हुन् ।

शिक्षकले राजनीति गर्नु हुँदैन भन्दै अरूलाई औला तेर्स्याउने सामुदायिक क्याम्पसका प्राध्यापक उमेशजंग थापाहरूले चाहिँ राजनीति गर्न विशेषाधिकार पाएका हुन् ? सर्वत्र प्रश्न खडा भएको छ ।

यसै गरी सो पार्टीका मोरङ जिल्ला उपाध्यक्ष रहेका भरत कँडेल पनि एक निजी विद्यालयमा कार्यरत छन् । कँडेल उर्लाबारी – ३ स्थित शुभकामना बोर्डिङका शिक्षक हुन् ।

सामान्यतः निजी शिक्षण संस्थाका शिक्षकको हकमा राजनीतिक संलग्नता ऐन नियमले वर्जित नगरे पनि नैतिक रूपमा अक्षम्य नै मान्नुपर्ने हुन्छ । जसले त्यहीँ पेशाको हवाला दिएर अरूमाथि प्रश्न तेर्साउँछ, उस्तै पेशामा रहेको आफूचाहिँ ऐन नियमको छिद्र देखाएर उम्कन पाउँछ भन्ने सवालै रहँदैन । जो कोही भए पनि शिक्षकहरु पेशा प्रति इमानदार अनिवार्य रहनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्