प्रदेश प्रहरी अस्पताल स्थानान्तरणविरुद्ध उद्योग वाणिज्य संघद्वारा विरोध प्रदर्शनी


बेलबारी । मोरङको बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएको विषयलाई लिएर उद्योग वाणिज्य संघ बेलबारीले विरोध जनाएको छ । एक विज्ञप्ति जारी गर्दै अस्पताल पुरस्थपना गर्न वाणिज्य संघले माग गरेको छ ।

१५ शय्याको अस्पताल सञ्चालनमा आएको ९ महिनापछि मङ्गलवार मध्यरात स्थानीय पालिकासँग कुनै समन्वय र सल्लाह इनरुवामा सारिएपछि जनप्रतिनिधि तथा राजनीतिक दलहरूले विरोध जनाउँदै आएका छन् । जनप्रतिनिधि तथा राजनीतिक दलले गरेको विरोध प्रति उनीहरूले एकबद्धता जनाएका छन् ।

शुक्रवार दिउसो १ बजे बेलबारी बजारमा सम्पूर्ण राजनैतिक दल सहिदको उपस्थितिमा दबाब मूलक कार्यक्रम गरेको छ । माग पुरा नभए सशक्त आन्दोलन गर्ने संघले जनाएको छ ।

दैनिक ३० जनासम्म ओपिडीमा बिरामी आउने गरेको अस्पतालको अभिलेखमा देखिन्छ । अस्पतालमा ९ औँ तहका चिकित्सकसहित ६० जनाको दरबन्दी थियो । उक्त अस्पताल यही मङ्सिर २६ गते मध्यरातमा इनरुवामा सारिएको थियो ।

कार्यक्रममा राजनीतिज्ञ तथा समाजसेवी महेन्द्र सुवेदीले अस्पताल फिर्ता ल्याउन माग गर्दै, सुनुवाइ नभए जस्तो सुकै कदम चाल्न चेतावनी दिएका छन् । उनले भने, ‘विना सर्त फिर्ता नभए जस्तो सुकै आन्दोलन गर्न तयार छौ ।’ कोशी प्रदेश प्रहरी अस्पताल, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाको नेतृत्वमा रातारात सारे पछि विवाद चर्किएको हो । अहिले स्थानीय बास्तोलाको कार्य प्रति असन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्