बेलबारीको लागि मात्र नगर अस्पताल जस्तो हैन प्रादेशिक हो, उपयुक्त ठाउँमा सार्‍यौ : डीआईजी बास्तोला


बेलबारी । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला भन्छन्,‘नगर अस्पताल हैन सोधिरहनू पर्ने प्रादेशिक प्रहरी अस्पताल हो साँगुरोबाट फराकिलो ठाउँमा सारेको हो ।’ बेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल गोप्य रूपमा सरे पछि बास्तोलालाई अस्पतालबारे प्रश्न गर्दा उनले फराकिलो ठाउँमा सारेको बताएका हुन ।

तामझामको साथ लाखौँको लगानीमा २०७९ फागुन १० गते तत्कालीन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा उद्घाटन भएको प्रादेशिक प्रहरी अस्पताल, कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवा सरे पछि अहिले बेलबारी नगरपालिका र स्थानीय आक्रोशित भएका छन् । अस्पताल सर्नेबारे न त स्थानीय नागरिकले थाहा पाए, न त स्थानीय सरकारले नै ।

एक वर्ष नपुग्दै अस्पताल सरेको छ । अहिले बेलबारीमा कोशी प्रदेश प्रहरी अस्पतालको बोर्ड मात्र रहेको छ । सबै स्वास्थ्य उपचारका सामाग्रीहरू सुनसरीको इनरुवामा सारिसकेको छ । उद्घाटन गर्दा राखिएको शिलालेख पनि निकालेर लगिसकेको छ । डीआईजी बास्तोलाले प्रादेशिक अस्पताल सार्दा नगरपालिकासँग समन्वयन गर्नु पर्ने आवश्यकता नरहेको बताएका छन् । बेलबारी वडा नं.३ मा रहेको अस्पतालको संरचना र ठाउँ साँघुरो भएकोले इनरुवास्थित जिल्ला समन्वय समितिको भवनमा सारेको बास्तोलाले बताएका छन् ।

बेलबारीमा खाली संरचना पाएकोले सुरुवात मात्र गरेको बास्तोला बताउँछन् । उनले भने, ‘कोशी प्रदेशमा पायक पर्ने ठाउँहरू मध्य मोरङ, सुनसरी, झापाको उपयुक्त ठाउँमा राख्नु पर्ने हुन्छ । फराकिलो ठाउँ खोजी कार्य भइरहेको थियो । सुनसरीको इनरुवामा रहेको जिल्ला समन्वय समितिको संरचना टन्न भएको, पुरानो जिल्ला प्रशासन कार्यालय, जिल्ला समितिको भवनहरू खाली भएकोले उपयुक्त ठाउँमा सारेको हो ।’

बास्तोलाले कोशी प्रदेश भित्र जहाँ पनि राख्न सकिने बताए । नगरपालिकाले अस्पतालमा लगानी नगरेको बास्तोलाले आरोप लगाएका छन्। उनले भने, ‘बेलबारीको लगानी भएको भए अस्पताललाई पर्याप्त हुने भवन संरचना जग्गा पाइन्थ्यो खै त ?’  बेलबारीमा नै राख्नु पर्छ भन्ने निर्णय नभएकोले फराकिलो उपयुक्त ठाउँमा सरेको बास्तोलाले बताए । उनले भने, ‘बेलबारीको लागि मात्र हैन, वडा अस्पताल, नगर अस्पताल जस्तो हैन, यो प्रादेशिक अस्पताल हो । पायक पर्ने र फराकिलो ठाउँमा सारेको हौँ । फराकिलो ठाउँको लागि पटक पटक आग्रह गरेकै हो, साहारा नेपालका भवन माग्दा पनि पाएनौ, उपलब्ध नभए पछि सञ्चालन गर्न साँघुरो भएर सार्नु परेको हो ।’

प्रहरीको माग अनुसार बेलबारी नगरपालिकाले २ बिघा जग्गाको व्यवस्थापनको लागि कसरत गरिरहेको थियो । त्योसँगै सम्पन्नको अन्तिम चरणमा रहेको नगर अस्पतालको भवनमा प्रहरी अस्पताल सञ्चालन गर्न सकिने विषयमा छलफल भइरहँदा गोप्य रूपमा इनरुवा सर्दा स्थानीयमा पनि असन्तुष्टि उत्पन्न भएको छ । नगरपालिका र स्थानीय दुवै पक्षबाट अस्पताललाई उद्घाटनबाट नै मर्मतसम्भार, भाडाको रकम भुक्तानी, अनन्य सहयोग हुँदै आइरहेको थियो । तर यस कार्यले कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी बास्तोलाको नेतृत्वमा दुवै पक्षबाट शङ्का उत्पन्न गराएको छ ।

प्रतिक्रिया दिनुहोस्