रमितेको छैठौँ साधारणसभा सम्पन्न : ३ पूर्व अध्यक्ष ढकाल, पुरी र राई सम्मानित


बेलबारी । रमिते सामुदायिक वन उपभोक्ता समूह, बेलबारी २ लालभित्तीको छैठौँ साधारणसभा सम्पन्न भएको छ । बेलबारी वडा नं.२ स्थित रमिते सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा शनिवार साधरणसभा सम्पन्न भएको हो ।

साधारणसभामा ३ पूर्व अध्यक्ष सम्मानित भएका छन् । पूर्व अध्यक्ष सन्तकुमार ढकाल, डिल्लीराम पुरी र प्रेमबहादुर राई सम्मानित भएका हुन । कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी २ का वडाध्यक्ष कृष्ण गुरुङले शुभकामना प्रदान गर्दै रमिते सामुदायिक वन उपभोक्ता समूहको कार्यक्रमहरूको प्रशंसा गरेका छन् । रमितेले समुदाय आधारित कार्यक्रम गरिरहेको र सोही अनुसारको बजेट विनियोजन हुँदै आएको गुरुङले बताए ।

वनको विकास, संरक्षण, व्यवस्थापनका कार्यक्रम, संस्थागत विकास साथै सामुदायिक विकासका विभिन्न कार्यक्रमहरू आगामी आर्थिक वर्षको लागि रमिते सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष खगेन्द्र प्रसाद ओझाको नेतृत्वमा देखिएको महत्त्वपूर्ण रहेको गुरुङले बताए । तत्काल देखिएको हात्ती आतङ्कलाई आगामी दिनमा न्यूनीकरण गर्न जङ्गलमा पर्याप्त मात्रामा आहार हुने गरी सोही किसिमको बिरुवा रोप्न साथै जङ्गली जीवजन्तुको संरक्षणको लागि गम्भीर हुन आग्रह गरेका छन् ।

जीवजन्तुको संरक्षण भए मात्र पारिस्थितिकी चक्र सुरक्षित रहने बताउँदै, नयाँ पुस्तालाई वन हस्तान्तरण गर्नु पर्ने उनले बताए । गुरुङले भने, ‘नयाँ पुस्तालाई वन हस्तान्तरण गर्नु भनेको जीवन हस्तान्तरण गर्नु हो ।’

कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष ओझाले प्रस्तुत गरे । उनले आगामी आर्थिक वर्षका सामुदायिक विकासकामा विद्युतीय चुलो वितरण, पर्यटन क्षेत्र विकास, उच्च शिक्षा छात्रवृत्ति, सडक बत्ती विस्तार लगायतका कार्यक्रमहरू योजना रहेको छ । उक्त कार्यक्रमहरूको सभा बढी चर्चा र प्रशंसा भएको थियो । आर्थिक प्रतिवेदन तुलसी कार्की प्रस्तुत गरिन ।

लेखा सुपरिवेक्षण समितिले केही सबल पक्ष र सुधारका पक्षहरू बारे जानकारीसहित सुझाव प्रदान गरेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाका पूर्व पदाधिकारी र सञ्चालक सदस्यहरूले तिर्न बाकी रहेको रकम जानकारी गराउँदै असुलउपर गर्न तदारुकता दिनु पर्ने आग्रह गरेको छ ।

कार्यक्रमको सञ्चालन समूहकी सचिव नैना राईले गरेकी थिइन भने स्वागत मन्तव्य सदस्य सिताराम न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्