दुर्गा प्रसाईँ नेतृत्वको आन्दोलनका कार्यक्रम स्थगित


काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोध अभियन्ता दुर्गा प्रसाईँ नेतृत्वको आज (आइतबार) का लागि तय गरिएको आन्दोलनका कार्यक्रम स्थगित भएको छ । राजतन्त्र र ऋण मिनाहाको एजेण्डा लिएर सडक आन्दोलनमा होमिएका प्रसाईँ नेतृत्वको भक्तपुर हुने भनिएको आजको आन्दोलन कार्यक्रम स्थगित भएको हो ।

मङ्सिर ७ गतेदेखि सुरु भएको प्रसाईँको आन्दोलन बल्खु, तीनकुने र सिफल हुँदै आज भक्तपुरको दरबार क्षेत्रभित्र गर्ने तय भएको थियो । प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामको महाअभियानले सूचना जारी गर्दै भक्तपुरको कार्यक्रम स्थगित गर्दै आज बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजीमल, रत्नपार्कमा एकै पटक विरोध स्वरूप सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरेको छ ।

तर उक्त कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले जानकारी दिएका छन् । कानुन विपरीत प्रदर्शनमा उत्रिए सोही अनुसार कडा रूपमा प्रस्तुत हुने स्थानीय प्रशासनको तयारी छ । गत शुक्रवार पनि अभियानले प्रशासनसँगको समन्वय विना तीनकुनेमा प्रदर्शनको तयारी गरेपछि प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्