सिंहदरबारको कुर्सीबाट ल्याएर प्रधानमन्त्रीलाई माइतीघर मण्डलामा पछार्ने महेश बस्नेतको चेतावनी


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको भविष्य अन्धकार बनाएमा प्रधानमन्त्रीको कुर्सी माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी दिएका छन् ।

आज (बिहीबार) तीनकुनेमा सरकारविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले एमालेको कार्यक्रम अब सातै प्रदेशमा विस्तार हुने र उक्त आन्दोलनपछि एमाले नेतृत्वमा सरकार बन्ने बताए ।

उनले भने ‘म प्रचण्डलाई कान खोल्ने गरेर, झिर रोपेर सुन्न चेतावनी दिन्छु –तपाईँ सच्चिनु भएन भने नेपाली जनताको भविष्य अन्धकार बनाउनु भयो भने सिंहदरबारको कुर्सीबाट ल्याएर माइतीघर मण्डलामा पछार्ने हो कि तीनकुनेमा पछार्ने हो ? त्यो तागत युवा विद्यार्थीहरूसँग छ, एमालेसँग छ’, बस्नेतको चेतावनी दिए । उनले गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिएको दाबी समेत गरे ।

नेता महेश बस्नेतले आफूहरूलाई निहुँ खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका छन् । उनले आजबाट दुर्गा प्रसाईँको हावा खुस्किएको टिप्पणी गरे । युवा संघलाई चुनौती दिन खोज्ने प्रसाईँले आज बल्खुमा दुई तीन सयभन्दा मान्छे उतार्न नसकेको बताए ।

उनले थपे, ‘एमालेले समाज रूपान्तरणको अभियान चलाउने हो । हामी कसैलाई हस्तक्षेप गर्दैनौँ । कसैको विरुद्ध कार्यक्रम गर्दैनौँ । तर, हाम्रो कार्यक्रमविरुद्ध निहुँ खोजेर आउँछ भने हामी छाड्दैनौँ । दुर्गा प्रसाईँको आजबाट हावा खुस्किएको छ । म चेतावनी दिन चाहन्छु भोलिदेखि ठिक ठाउँमा बस, अब हामी यो कार्यक्रम सात प्रदेशमा विस्तार गर्दै छौँ ।’ उनले भने, ‘सम्भवतः हामी फागुनमा काठमाडौँमा मानवसागर उतार्छौ । त्यसपछाडि यी अराजकतावादी, अपराधी र तस्करहरूलाई सदाको लागि सफा गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्