हङकङलाई हराउँदै नेपाल फाइनलमा : त्रिदेशीय टी–२० श्रृखंला


काठमाडौं । त्रिदेशीय टी–२० श्रृखंलामा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनल पुगेको छ । आज भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्‍यो । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ १३४ रनमा रोकिएको हो ।

नेपालको धारिलो बलिङमा हङकङका ब्याट्सम्यानहरुले प्रतिरोध गर्न सकेनन् । अंशुमान रथले सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले ३–३ विकेट बाँडे । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २१३ रनको विशाल स्कोर खडा गरेको थियो ।

मुलपानी क्रिकेट मैदानमा ५५ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि कुशल र दीपेन्द्रले पाँचौँ विकेटका लागि विश्व कीर्तिमानी साझेदारी सम्भव बनाए । उनीहरूबिच ५ औँ विकेटका लागि १४५ रनको विश्व कीर्तिमानी साझेदारी भएको छ ।

कुशलले ४१ बलमा ९ छक्का र ३ चौकासहित ९२ रन बनाए । उनी अन्तिम ओभरको ५ औँ बलमा आउट भए । दीपेन्द्रले ३४ बलमा २ छक्का र ६ चौकासहित ५७ रन जोडे । नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो । १.१ ओभरमा ९ रन बनाउँदा ओपनर कुशल भुर्तेल आउट भए ।

नेपालले आज सोमपाल कामीलाई तेस्रो नम्बरमा बढुवा गरेको थियो । तर, उनी सफल भएनन् । सोमपालले १२ बलमा ८ रन मात्र जोड्न सके । अर्का ओपनर आसिफ शेखले राम्रो सुरुवात गरे पनि लामो समय टिक्न सकेनन् । उनी १३ बलमा २० रन जोडेर आउट भए ।

कप्तान रोहित पौडेल पनि आज नचलेपछि नेपाल संकटमा परेको थियो । तर, त्यसपछि कुशल–दीपेन्द्र शो सुरु भयो ।

प्रतिक्रिया दिनुहोस्