छैठौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सुरु : उद्घाटन खेलमा आयोजक टिम डाँगीहाट विजयी


बेलबारी । छैठौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उद्घाटन खेलमा आयोजक टिम डाँगीहाट यूथ क्लब विजयी भएको छ । आयोजक टिमले भोजपुर फुटबल टिमलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

 

खेलको पहिलो हाफ गोल विहीन सकिएको थियो । दोस्रो हाफको २८ मिनेटमा आयोजक टिमका सुन्तला रङ्को जर्सीका १० नं.का खेलाडी निसान लिम्बुले गोल गरे । लिम्बु मन अफ द म्याच साथै पहिलो खोलकर्ता घोषित भएका छन् । भोजपुरको टिमले सेतो जर्सीमा खेल खेलेका थिए ।

 

लिम्बुलाई बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईद्वारा नगद पुरस्कार रु.५ हजार हस्तान्तरण गरिएको छ । कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङको पनि उपस्थिति रहेको थियो ।

 

डाँगीहाट यूथ क्लबका अध्यक्ष विक्रम राईका अनुसार भोली सहलेस यूथ क्लब सिरहा र यु.के. एफ.सी. दार्जिलिङ बिच प्रतिस्पर्धा हुने छ । फाइनल खेल कार्तिक ४ गते हुने राईले बताए । विजेताले नगद पुरस्कार रु.८ लाख र उपविजेताले रु.५ लाख प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्