“भ्रष्टाचारकाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने तयारीमा छौ” : प्रधानमन्त्री दाहाल


काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका भ्रष्टाचारका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सरकारको तयारी रहेको बताएका छन्। सोमबार दिउँसो काठमाडौँको कमलादीमा अखिल नेपाल ट्रेड युनियन महासंघको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारको छानबिनका लागि छिट्टै आयोग गठन गरिने बताएका हुन।

प्रधानमन्त्रीले भने, “हामीले पार्टीको घोषणापत्रमा नै प्रतिबद्धता व्यक्त गरेका छौँ कि २०४६ सालपछि भएका सबै भ्रष्टाचारको छानबिन गरिनेछ। हामी आयोग बनाउने तयारीमै छौँ। मैले वर्तमान सरकारका ३ प्राथमिकता भनेको छु, सामाजिक न्याय, सुशासन र समृद्धि। सुशासनको लक्ष्य हासिल गर्न आयोग बनाएर काम गर्छौँ।’’ “सबैभन्दा ठुला भ्रष्टाचारीहरू नै भ्रष्टाचारको छानबिन हुनुपर्‍यो भन्दै तमासा गरेको देख्दा अनौठो लाग्छ। तिनीहरू जनतालाई भ्रम पार्न यसरी प्रस्तुत भइरहेका छन्। हामी तिनीहरूको भ्रममा पर्न जरुरी छैन। भ्रष्टाचारको छानबिन गरिन्छ र मुलुकमा सुशासनको नयाँ वातावरण बनाइन्छ।’’ प्रधानमन्त्री दाहालले भने।

जलवायु परिवर्तन र प्राकृतिक विपत्तिको मूल कारण पुँजीवादी मुनाफा र अव्यवस्थित विकास भएकोमा प्रधानमन्त्रीले जोड दिए। उनले भने, “आजको विश्व भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादमा छ। मुनाफाको होड र अव्यवस्थित विकासका कारण विश्वले निकै ठुला चुनौतीको सामना गरिरहेको छ। जलवायु परिवर्तन, समुन्द्रको सतह बढ्ने, विश्व तापमान वृद्धि जस्ता कुराहरू विश्वकै लागि चुनौती हुन्। हामीले त्यसलाई ठिक ढङ्गले बुझ्ने र भूमण्डलीकरणको प्रभावलाई चिर्दै प्राकृतिक सम्पदाहरूको संरक्षण र स्थानीय साधन स्रोतको समाजवादी परिचालनमा जोड दिनुपर्छ।’’

प्रतिक्रिया दिनुहोस्