कोशी प्रदेशको नाम खारेजीको विरोध जनप्रदर्शनका घाइते पदमको निधन : सहिद घोषणको माग


मोरङ । कोशी प्रदेशको नाम खारेजीको लागि चैत ५ गते विराटनगरमा भएको विरोध जनप्रदर्शनको क्रममा गम्भीर घाइते भएका बेलबारीका लाजेहाङ लिम्बु (पदम लिम्बु) को निधन भएको छ । विरोध जनप्रदर्शनमा नेपाल प्रहरीको आक्रमणमा घाइते भएका लिम्बुको उपचार धरानको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा भइरहेको हो ।

प्रेस विज्ञप्ति मार्फत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले लिम्बुको निधनको जानकारी गराएको छन् । समितिले आज सार्वजनिक गर्दै प्रेस विज्ञप्तिद्वारा २ः३० बजे बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा निधन भएको जनाएको छ ।

प्रेस विज्ञप्तिमा लिम्बु वीरतापूर्ण मृत्युवरण ‘लिम्बुवान – किरात – शेर्पालुङ’ एवम् आदिवासी पहिचान आन्दोलनको सहिद भएको उल्लेख छ । लिम्बु ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को घटक दल सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको सचिवालय सदस्य एवम् यस मञ्च मातहत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) का केन्द्रीय सह–कमान्डर थिए ।

बुबा छत्र बहादुर लिम्बु र आमा धनमाया लिम्बुको कोखबाट वि.स. २०३७ साल कात्तिक १७ गते तेह्रथुम जिल्लाको साब्लामा जन्म भई मोरङ जिल्लाको बेलबारी लालभित्तिमा हुर्किबढी हाल धरानमा बसोबास गर्दै आउनु भएका लाजेहाङ लिम्बु ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को घटक दल स.लो.रा. मञ्च – सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चको स्थापना काल २०६२ देखि नै अति सक्रियताका साथ लिम्बुवान आन्दोलनमा होमिएका थिए, प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले लिम्बुको हत्याको जिम्मा ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम् नेपाल प्रहरीले लिनु पर्ने बताएको छ । समितिले लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र सहिद घोषणा गर्न माग गरेको छ । प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राखिएको संयुक्त सङ्घर्ष समितिको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्