उम्मेदवारी दिनको लागि चाहिने कागजात : उपनिर्वाचन


काठमान्डौ ,२१ कात्तिक / नेपालमा मङ्सिर १४ गते हुने उपनिर्वाचनमा राजनैतिक पार्टीहरुले आ-आफ्ना व्यक्तिलाई जिताउनु लभिङ्ग गर्न थालेका छन् । नेपालमा लोकतन्त्र आएपछि दोस्रो निर्वाचनमा विजय भएका जनप्रतिनिधहरुको खाली रहेको स्थानमा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले दिएको सूचना अनुसार प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता बिहीबार बिहान १० बजे देखि दिउँसो १ बजे सम्म तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराउनु सक्छन् । त्यहीँ दिन आयोगले मनोनयन दर्ता गरेका उम्मेदवारहरूका सुची प्रकाशित गरिनेछ ।

शुक्रवार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारहरूविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी सोही दिन दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । कुनै उम्मेदवारहरूले नाम फिर्ता लिन चाहे २४ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ ।

त्यसपछि सोही दिन ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गर्ने छ भने २५ गते बिहान ११ बजेदेखि बेलुका चार बजेसम्म आयोगले उम्मेदवारहरूलाई निर्वाचन चियन प्रदान गरिने कार्यक्रम रहेको छ ।

साथै स्थानीय तहको उम्मेदवारहरुले कात्तिक २७ गते उम्मेदवारी दर्ता मनोनयन गरिने छन् । मतदान भने प्रतिनिधिसभा र प्रदेशसभामा तोकिएको समयमै हुने छ । विभिन्न कारणले रिक्त ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।

३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ पदमा जनप्रतिनिधिको चयन हुने छ । उपनिर्वाचनमा भाग लिने दलहरूको सङ्ख्या १०१ छ भने १६ नयाँ दल छन् । उपनिर्वाचनका लागि आयोगले २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकेको छ । यस्तै मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ ।

उम्मेदवारी दिनको लागि चाहिने कागजात

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि ,

(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्रको प्रतिलिपि ।
(२) अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा ।
(३) राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा) ।
(४) प्रतिनिधि सभा सदस्यको लागि १० हजार रुपैयाँ र प्रदेश सभा सदस्यको लागि पाँच हजार रुपैयाँ धरौटी ।
(५) मतदाता नम्बर
(६) सम्पत्ति विवरण
(क) घर सङ्ख्या (ख) घर रहेको स्थान (ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिका नगरपालिका, वडा नं., कि.नं., क्षेत्रफल)
(७) प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा ।

स्थानीय तहका उम्मेदवारलाई चाहिने कागजात

(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
(२) सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (वडा अध्यक्ष पदको लागि) ।
(३) सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि) ।
(४) राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा) ।
(५) स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि एक हजार पाँच सय र वडा अध्यक्ष पदको लागि एक हजार रुपैयाँ धरौटी ।
(६) मतदाता नम्बर
(७) सम्पत्ति विवरण
(क) घर सङ्ख्या (ख) घर रहेको स्थान (ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिका नगरपालिका, वडा नं., कि.नं., क्षेत्रफल)
(८) अध्यक्ष र उपाध्यक्ष र प्रमुख र उपप्रमुख र वडाध्यक्षको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वा्चित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा ।

प्रतिक्रिया दिनुहोस्