राजारानी सेमिफाइनलमा प्रवेश : कालिङम्पोङ फराकिलो गोल अन्तरले पराजित


बेलबारी, २० कार्तिक । मोरङको बेलबारीमा जारी पाँचौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा राजारानी फुटबल क्लब प्रवेश गरेको छ । आइतबार भारतको युनाइटेड ब्रदर्श कालिङम्पोङसँग भएको अन्तिम सेमिफाइनल खेलमा ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै राजारानी सेमिफाइनलमा पुगेको हो ।

राजारानीको फराकिलो जितमा छिरिङ गुरुङ, निशान लिम्बू, मनिष थापा र बुद्ध चेम्जोङले गोल गरे । राजारानीले खेलको ३५ औँ मिनेटमा गोलको खाता खोलेको थियो । सुनिल खड्काको क्रसलाई सदुपयोग गर्दै छिरिङ गुरुङले बललाई पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाउँदा विदेशी मैदानमा कालिङम्पोङ दबाब झेल्न बाध्य भयो ।

पहिलो हाफ १–० को अवस्थामा सकिए पनि थप ३ गोल राजारानीले मध्यान्तरपछि गरेको हो । खेलको ७३ औँ मिनेटमा राजारानीका निशान लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । सेन्टरबाट पाएको पासलाई अघि बढाएका उनले भारतका गोलरक्षक रिसब तामाङलाई बिट गर्दै गोल गरेका हुन् । राजारानीका लागि थप २ गोल इन्जुरी समयमा मात्रै सम्भव भयो । इन्जुरी समयमा राजारानीका मनिष थापाले गोल थप्दै खेललाई ३–० को अवस्थामा पुर्‍याए । योमन लिम्बूले प्रहार गरेको बल गोलरक्षक रिसब तामाङलाई लागेर रिबाउण्ड भएपछि थापाले सदुपयोग गरेका हुन् ।

एक पक्षीय खेलको इन्जुरी समयमै राजारानीले थप अर्को गोल पनि गर्‍यो । खेल सकिनै लाग्दा बुद्ध चेम्जोङले गोल गरेर टिमलाई फराकिलो अन्तरको जित दिलाए । उनले करिब ३५ यार्ड टाढाबाट गरेको प्रहारले पोस्टको बाटो तय गरेको थियो । सुरुवातमा उत्कृष्ट प्रदर्शन गर्दै खेललाई नियन्त्रणमा राखेको कालिङम्पोङले क्रमशः लय गुमाउँदै जाँदा नतिजा विपक्षीको पोल्टामा पुर्‍यो । सान्त्वना गोलसमेत फर्काउन नपाइ कालिङम्पोङ प्रतियोगिताबाट बाहिरियो । पहिलो हाफमा १ गोलले मात्रै पछि परेको उसले मध्यान्तरपछि भने थप ३ गोल खाएको हो ।

 

मध्यान्तरपछि रणनीति परिवर्तन गर्दै राजारानीले कालिङम्पोङलाई दबाबमा राख्यो । जसका कारण राजारानी विदेशी टोलीविरुद्ध फराकिलो अन्तरको जित निकाल्न सफल भएको हो । कालिङम्पोङले ३० औँ मिनेटमा अग्रता लिने अवसर गुमायो । कप्तान सनम लोप्चाको पासमा दिनेश राईको प्रहारलाई राजारानीका गोलरक्षक पूजन होनाले उत्कृष्ट ढङ्गले बचाए । ६८ औँ मिनेटमा वान भर्सेस वानको अवस्थामा सनम लोप्चा असफल भए । बारम्बार गोल गर्ने अवसर खेर जानु कालिङम्पोङको दुर्भाग्य बन्यो ।

आइतबारको खेलको म्यान अफ दी म्याच राजारानीका कप्तान बुद्ध चेम्जोङ घोषित भए । उनले पुरस्कारबापत ५ हजार रुपैयाँ पाएका छन् । यसअघिका प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं, सिरहाको सहलेस यूथ क्लब र आयोजक डाँगीहाट यूथ क्लब सेमिफाइनलमा पुगिसकेका छन् । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार पहिलो सेमिफाइनल खेलमा सोमबार डाँगीहाट र एपीएफबीच प्रतिस्पर्धा हुने छ ।

आजको खेलको उद्घाटन रेफ्रीलाई गोल हस्तान्तरण गरेर नेकपा एमालेमा स्थायी कमिटी सदस्य, पूर्व मन्त्री तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकालले गरेका थिए । बेलबारी डाँगिहाट फुटबल क्लबले खेल क्षेत्रको विकासको लागि निर्माण गर्ने योजनामा सधैँ सहयोग गर्ने ढकालले प्रतिबद्धता गरेका छन् । उनले नेकपा एमालेको सूर्य चिन्नमा मतदान गर्न समेत आग्रह गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्