धरानमा ज्ञानदीप लोकार्पण तथा परिचर्चा कार्यक्रम


धरान, ३१ असार । महेन्द्र बहुमुखी क्याम्पस धरान नेपाली विभागद्वारा प्रकाशित अनुसन्धानात्मक कृति ज्ञानदीपको एक कार्यक्रमकाबिच लोकार्पण गरिएको छ । क्याम्पसको सभा हलमा शनिवार आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो ।


लोकार्पित कृतिमाथि सहप्राध्यापक सहप्राध्यापक डाक्टर रामजी तिम्सिना, सहप्राध्यापक हरिप्रसाद दाहालले टिप्पणी गरेका थिए । कृतिमाथि चर्चा गर्दै सहप्राध्यापक तिम्सिनाले प्राविधिक रूपमा केही त्रुटि रहे पनि यस कृतिको विशेष महत्त्व रहेको बताए । उनले रिसर्च आर्टिकल थेसिसजस्तो भए पनि थेसिस भने नभएको बताउँदै आगामी दिनमा यसलाई अझ सुधार गरेर लैजानेमा आसा व्यक्त गरे ।

अर्का टिप्पणीकार सहप्राध्यापक हरिप्रसाद दाहालले ज्ञानदीपको निरन्तरताले ज्ञानको ज्योतिलाई अझ वृद्धि गर्ने आसा व्यक्त गर्दै साहित्यले समसामयिकता जोड दिनु पर्ने बताए । प्रा.डा.टङ्कप्रसाद न्यौपानेले विभागले साहित्यिक उन्नयनमा योगदान दिइरहेको बताउँदै यसले आफ्नो गरिमालाई बचाइ राख्नु पर्ने बताए । क्याम्पसका पूर्व प्रमुखसमेत रहेका भाषाविद् न्यौपानेले त्रिभुवन विश्वविद्यालयले आफ्नै रिसर्च मोडल तयार पार्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहप्राध्यापक चन्द्रकुमार राई, प्रा.डा. भोलानाथ पोख्रेल, प्रा.डा. गोपाल प्रसाद भण्डारी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । यस कृति भित्र १० वटा रचनामा ४ वटा व्यक्ति व्यक्तित्व र बाँकी ६ वटामा कृतिपरक विषय समेटिएका छन् । कार्यक्रममा लामो समय प्राध्यापन गरेर सेना निवृत्त भएका नेपाली विभागका विभागीय प्रमुख उपप्राध्यापक दामोदर भण्डारीलाई बिदाइसमेत गरिएको थियो । विभागीय प्रमुख डा. दीपक न्यौपानेको अध्यक्षतामा, उपप्राध्यापक डा. सुभाष न्यौपानेले स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने महेशवर कोइरालाको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्