प्रतिनिधि सभाको आजको बैठकमा एमसीसीमाथि छलफल हुने


काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा हिजो स्थगन भएको संसद् बैठक आज बस्दै छ । बैठक आज (शुक्रवार) दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सहमति कायम गर्न भन्दै हिजो बस्न लागेको संसद् बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए । बिहीवारको बैठक स्थगित गर्न लगाएर काँग्रेस सभापतिसमेत रहेका देउवा छलफल जुटेका छन् । उनले प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीबिचको ‘वान टु वान’ वार्ता पनि निष्कर्षविहीन बनेको छ । ओलीले देउवासँगको भेटमा पुरानै अडान दोहो¥याएका थिए । बैठक सामूहिक र एकल रूपमा गरिएको थियो । यद्यपि छलफल निष्कर्षमा पुगिसकेको भने पाइँदैन ।

उता प्रचण्ड र ओलीबिचको बैठक सकारात्मक रहे पनि निष्कर्षमा भने पुगिनसकेको एमालेले बताएको छ । एमाले नेता सुभाष नेङ्वाङले भेट उपलब्धिमूलक भएको बताएका थिए । केही मिडियाले भने प्रचण्डले ओलीलाई प्रधानमन्त्री बन्न आग्रह गरेको समेत उल्लेख गरेका थिए । तर त्यो आधिकारिक भनाइको रूपमा भने बाहिर आएको छैन ।
आजको संसद् बैठकमा पनि ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बिच भएको अनुदान सहायता सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले नै प्रस्तुत गर्नुपर्ने सम्भावित कार्यसूची छ ।

बिहिवारको कार्य व्यवस्था परामर्श समितिको बैठकले एमसीसीमाथिको छलफलमा बोल्न चाहने सबै सांसदलाई बोल्न दिने निर्णय गरेको छ ।
प्रतिनिधिसभामा कायम २७१ सदस्यमध्ये एमालेका ९८, काँग्रेसका ६१, माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक–एक सांसद छन् ।

तर प्रतिनिधि सभामा अहिलेसम्म नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् ।  नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत–समाजवादी) विपक्षमा छन् ।
उता एमालेले पनि लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्