एकीकृत समाजवादी र लोसपामा जाने जनप्रतिनिधिलाई भदौं २२ गतेसम्मको समय सीमा


काठमाडौँ, १३ भाद्र । एकीकृत समाजवादी र लोसपामा जाने जनप्रतिनिधिले भदौ २२ गतेसम्ममा दल रोजिसक्नु पर्ने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित भई बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरू भाद्र २१ दिनभित्र निर्वाचन आयोगमा उपस्थित भएर सनाखत गरिसक्नु पर्ने बताएको छ ।

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएको मिति भदौ २ गतेलाई आधार मानेर भदौ २२ गतेभित्र निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न भनेको छ । नयाँ दलमा जान चाहने जनप्रतिनिधिले प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न सक्ने छन् । सनाखत गर्न आउँदा सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा –स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र अनिवार्य रूपमा लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

हाल नेकपा एमालेबाट एकीकृत समाजवादी पार्टी र जनता समाजवादीबाट लोकतान्त्रिक समाजवाद पार्टी गठन भएका छन् । यी दुवै पार्टीले निर्वाचन आयोगबाट यसअघि नै मान्यता पाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्