विधान अधिवेशन र राष्ट्रिय महाधिवेशनको मिति सार्ने एमालेको निर्णय


काठमाडौँ, १० भाद्र । नेकपा एमालेले विधान अधिवेशन र राष्ट्रिय महाधिवेशन सार्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले यस अघि भदौ अन्तिममा गर्ने भनिएको विधान अधिवेशन र मङ्सिर दोस्रो साता तय भएको राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको हो । 

बैठकले आगामी मङ्सिर १०–१२ मा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । नयाँ मितिमा अधिवेशन गर्न केन्द्रीय कमिटी बैठकले सङ्गठित सदस्यता असोज मसान्तभित्र नवीकरण गरिसक्नु पर्ने निर्णय गरेको छ । भदौ १६ देखि २० सम्म पार्टी मा देखा परेका समस्या समाधान र १० बुँदे भावनाअनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने पनि एमालेले निर्णय गरेको छ ।

बैठकले भदौ २५ र २६ गते स्थायी कमिटी बैठक तथा २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

बैठकले एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादीमा जाने नेतालाई कारबाही गर्ने निर्णय गरेको छ । तर एमाले मै फर्कन चाहनेलाई भने कुनै कारबाही नगर्ने पार्टी प्रवक्त प्रदीप ज्ञवालीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्