पार्टीको आधिकारिक विभाजन पछि एमालेलाई आफ्नो नेतृत्वका प्रदेश सरकार जोगाउन सकस


विराटनगर, १० भाद्र । नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएर वरिष्ठ नेता माधव नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) नामको दल दर्ता भएको छ । बुधवार मात्रै नवगठित दलले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ ।

नेपाल नेतृत्वको पार्टीले नयाँ दलको मान्यता पाएसँगै एमाले नेतृत्वमा रहेका प्रदेश सरकारमा फेरबदल हुने सङ्केत देखिएको छ । एमालेलाई यतिखेर आफ्ना नेतृत्वमा रहेका यी दुई प्रदेश सरकार जोगाउन सकस भएको छ । 

एमालेले पार्टी विभाजनलाई रोक्न त्यो सम्भव नभए नयाँ दलमा जानेको सङ्ख्या न्यून पार्ने रणनीतिका साथ नेपाल निकट रहेकी अष्टलक्ष्मी शाक्यलाई बागमतीको मुख्यमन्त्री त बनायो तर यो रणनीतिले एमालेको विभाजनलाई रोक्न भने सकेन । शाक्य मुख्यमन्त्री त बनिन् तर उनको सरकार एक महिनाभन्दा बढी टिक्ने सम्भावना देखिएको छैन । पार्टी अध्यक्ष र वरिष्ठ नेता नेपाल दुवैको सहमतिमा आफू मुख्यमन्त्री बनेको बताउँदै आएकी शाक्य पार्टी आधिकारिक रूपमै विभाजन भए पछि यतिखेर अप्ठ्यारोमा परेकी छिन् । 

यता प्रदेश नं १ को अवस्था पनि उस्तै रहेको छ । केन्द्रमा पार्टी विभाजनलाई रोक्न असफल सफल भए पछि एमालेको ध्यान यतिखेर प्रदेशसभामा रहेका सांसदलाई आफ्नोतर्फ टिकाइराख्ने रणनीतिमा रहेको देखिन्छ । जसरी पनि प्रदेशमा पार्टी विभाजनको प्रभाव कम पार्ने योजनामा एमाले रहेको देखिन्छ । नयाँ दलमा जानेलाई रोक्ने रणनीतिमै नेपालनिकट मानिने भीम आचार्यलाई मुख्यमन्त्री बनाउन सहमत भएको छ । आफू मुख्यमन्त्री हुँदा नेपालनिकट रहेका सांसदहरुलेसमेत सहयोग गर्ने आसामा उनी आसामा छन् । तर तथ्यले भने त्यस्तो देखाउँदैन । उनी मुख्यमन्त्री हुँदा ओली निकट मानिने केही सांसद नै असहमत देखिएका छन् । 

प्रदेश १ मा एमालेका ५१ सांसद रहेकोमा कम्तीमा ६–७ जना सांसदहरू नेपाल नेतृत्वको नेकपा समाजवादीमा जाने निश्चित देखिन्छ । त्यसो नेपाल पक्षले भने कम्तीमा १३ सांसद आफ्नो पक्षमा आउने बताउँदै आएको छ ।

लामो समयसम्म नेपाल–खनाल निकट रहे पनि पार्टीको विभाजन पछि ओलीतर्फ लागेका भीम आचार्यलाई मुख्यमन्त्री बनाएर भए पनि विभाजनको असरलाई कम गर्ने योजनाका साथ आज संसदीय दलको बैठकको आह्वान गरिएको छ । बिहीवार पार्टीको केन्द्रीय कमिटी बैठक बस्नुअघि नै प्रदेशमा संसदीय दलको बैठक बसेर दल नेता परिवर्तन गर्ने योजना देखिएको छ । यसका लागि तयारीमा रहन आफ्ना सांसदहरूलाई परिपत्र गराइसकेको छ । 

आजकै बैठकमा मुख्यमन्त्री राईले प्रदेश १ एमाले संसदीय दलको नेताबाट राजीनामा दिने आचार्यलाई दलको नेता बनाइँदै छ । राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बिहीबार नै आचार्य मुख्यमन्त्री बन्ने बताइएको छ । काठमाडौँमा रहेका मुख्यमन्त्री राई बिहीबार बिहानै विराटनगर आउने आचार्यलाई सत्ताको बागडोर सुम्पिने तयारी गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्