बेलबारीमा दुईहप्तादेखि जारी निषेधाज्ञा हटाइँदै


बेलबारी, ३२ श्रावण । बेलबारीमा दुई हप्तादेखि जारी गरिएको निषेधाज्ञा हटाइने भएको छ । कोरोना सङ्क्रमण केही नियन्त्रणमा आएको भन्दै साउन ३१ गते बसेको नोबेल कोरोना रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समितिको बैठकले २ सातादेखि जारी निषेधाज्ञा हटाउने निर्णय गरेको हो । 

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहद्वारा हस्ताक्षरित सूचनामा भदौ १ गते देखि बेलबारीमा सबै प्रकारका व्यवसायहरू सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने बताइएको छ । ती व्यवसायहरू बिहान ५ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् तर डेरी लगायत दुग्धजन्य पदार्थहरूका पसल भने बेलुका ८ बजेसम्म खोल्न पाइने सूचनामा भनिएको छ । 

निषेधाज्ञा हटाइए पनि बजार, सेमिनार, सभा सम्मेलन, पार्टी, भोजभतेर तथा विवाह आदि भिडभाड हुने कार्यक्रम भने गर्न नपाइने नगरपालिकाले जनाएको छ । बेलबारीमा यतिखेर १ हजार ४ सय बढी कोरोना सङ्क्रमितहरू रहेका छन् ।

बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवम् कोरोना फोकल पर्सन सन्तोष विश्वकर्माले बेलबारीमा कोरोना सङ्क्रमणबाट हालसम्ममा ३१ जनाले ज्यान गुमाएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्