बुटवल, २७ श्रावण । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलमाथिको अविश्वासको मतको आज छिनोफानो हुने भएको छ । आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभाको विशेष अधिवेशनले मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो हुने आसा लिइएको हो ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पटक पटक अविश्वासको प्रस्ताव पेस गर्दै आएका थिए । वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गराएको विपक्षी गठबन्धनले साउन १९ गते उनीविरुद्ध तेस्रो पटक अविश्वासको मत दर्ता गराएको थियो ।
बहुमत गुमाएको एक मिनेट पनि कुर्सीमा बस्दिन भन्ने सार्वजनिक अभिव्यक्ति दिएका पोखरेलले अल्प मतमा पर्दासमेत राजीनामा नदिएको भनेर विपक्षी गठबन्धनले उनको आलोचना गर्दै आएका छन् । उनीमाथि तेस्रो पटक अविश्वासको प्रस्ताव पेस भए पछि प्रदेश प्रमुख अमिक शेरचनले आज २७ गते बुधवारका लागि विशेष अधिवेशन आह्वान गरेका थिए । विशेष अधिवेसन रोक्न माग गर्दै नेकपा एमालेका सांसदले अदालतमा रिट हाले पनि निवेदनको सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि आज यसबारेमा छलफल हुने बाटो खुलेको थियो ।
प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ । यो सङ्ख्या र समीकरण हेर्दा उनको सरकार ढल्ने प्रवल सम्भावना रहेको देखिन्छ ।