रुपन्देही, २१ श्रावण । मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्तावमा साउन २७ गते छलफल हुने भएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोही प्रयोजनका लागि यही साउन २७ गते बुधवार १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरिएको बताइएको छ ।
बहुमत गुमाएको एक मिनेट पनि कुर्सीमा बस्दिन भन्ने सार्वजनिक अभिव्यक्ति दिएका पोखरेलले अल्प मतमा पर्दासमेत राजीनामा नदिएको भनेर विपक्षी गठबन्धनले उनको आलोचना गरिरहेका थिए ।
यसैबिच पोखरेलविरुद्ध साउन १८ गते नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराए पोखरेल अप्ठ्यारोमा परेका छन् ।
प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ । यो सङ्ख्या हेर्दा उनको सरकार ढल्ने प्रवल सम्भावना रहेको जानकारहरू बताउँछन् ।