मुख्यमन्त्री निवासमा बन्धक बनाएर जबरजस्ती हस्ताक्षर गराएको सांसद वलीको भनाइ


काठमाडौँ, २१ श्रावण । केही दिन अघि एमालेमै फर्किएको भनेर प्रेसविज्ञप्ति निकोकी लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएर राखेको बताएकी छिन् । 

आज बुटवलमा पत्रकार सम्मेलन गर्दै सांसद वलीले आफूलाई मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा बन्दी बनाएर जबरजस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइए पनि आफू माओवादीमै रहेको प्रस्ट पारेकी छिन् । 

उनले आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै लगातार तीन दिन सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिएको, आफूले इन्कार गर्दा पनि जबरजस्ती तयारी अवस्थामा रहेको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको उनले बताएकी छिन् । साथै उनले दुई तीन वटा माइन्युट जस्ता रजिस्टरमा पनि जबरजस्ती हस्ताक्षर गराएको पनि बताएकी छिन् । 

माओवादी केन्द्रले यसअघि नै मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा उनलाई ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको बताउँदै वलीको स्थिति सार्वजनिक गर्न, उनको जीवन रक्षाको माग गरेको थियो । वली दाङ ३ (ख) मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्