सांसद विमला ओली पुन : माओवादी केन्द्रमै फर्किइन


बुटवल, २० श्रावण । केही दिन अघि आफू एमालेमै रहेको भनेर प्रेस विज्ञप्तिसमेत निकालेकी लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली) फेरि माओवादी केन्द्रमै फर्किए पछि राजनीति वृत्तमा एउटा तरङ पैदा भएको छ । उनी विगत एक सातादेखि सम्पर्क विहीन बन्दै आएकी थिइन । उनी रहेको पार्टीले माओवादी केन्द्रले पनि आफ्नो सम्पर्कमा नभएको बताएको थियो । 

दुई दिनअघि मात्रै वलीको हस्ताक्षरसहितको विज्ञप्ति आएको थियो । विज्ञप्तिमा आफू एमालेमै रहेको उल्लेख गरिएको थियो । आफू एमालेमै रहेको भनेर विज्ञप्ति निकालेकै दुई दिन पछि उनले किन आफू माओवादीमै रहेको बताइन् ? बुधवार बिहान प्रदेशसभा सचिवालयस्थित माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भए पछि प्रेस विज्ञप्तिलाई लिएर केही सका उपशङ्का उब्जिएका छन् । किन उनले आफू एमालेमै रहेको भनेर प्रेस विज्ञप्ति निकालिन् ? त्यो प्रेस विज्ञप्ति कतै कसैको दबाब त थिए भने प्रश्न उठ्न थालेको छ । 

माओवादी केन्द्रले भने मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा उनलाई ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप लगाउँदै आएको छ । प्रेस विज्ञप्ति आउनसाथ विमलाको स्थिति सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र घटनाको उच्चस्तरीय छानबिन गर्न माओवादीले सरकारसँग माग गर्दै आएको थियो ।

वली दाङ ३ (ख) मा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । 

प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ । विमला माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन सहज हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्