काठमाडौँ, २० श्रावण । नेकपा एमालेका नेता शङ्कर पोखरेलले एमालेको रिस पोख्न वर्तमान सरकारले भूमि सम्बन्धी आयोग विगठन गरेको आरोप लाएका छन् । पाखेरेलले बुधवार सामाजिक सञ्जालमा लेख्दै एमालेको रिस भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी माथि पोख्नु सरकारको लाचारीपन भएको बताएका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता शङ्कर पोखरेलले सरकारले एमालेसँगको रिस भूमिहीनमाथि पोखेर आफूलाई कमजोर र निरीह साबित गरेको बताएका छन् । मङ्गलवार मात्रै सरकारले देशी ज्ञवालीको नेतृत्वमा रहेको भूमिसम्बन्धी समस्या समाधान आयोगको विघटन गरेको थियो । नेता पोखरेले सरकारलाई आफ्नो गल्ती सच्याई आयोगलाई पुनः सक्रिय बनाउन आग्रह गर्दै त्यसका लागि दबाब सिर्जना गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
केही दिन अघि पनि नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले संसदको विशेष सममा बोल्दै सरकारलाई भूमिसम्बन्धी आयोग विघटन नगर्न आग्रह गरेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एमाले नेता ज्ञवालीको नेतृत्वमा आयोग गरेर गठन गरेर देशका सबै जिल्लामा कार्यालयले खोलेर सोमार्फत भूमिहीन तथा सुकुम्वासीको लगत सङ्कलन गर्ने काम भइरहेको थियो ।
कतिपय स्थानीयपालिकामा नाप जाँचको कामसमेत सुरु भएको थियो । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेसँगै उक्त आयोगले गरेका सबै कामहरू त्यसै थन्किने भएका छन् ।