रोल्पा, १७ श्रावण । रोल्पा प्रहरीले बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु नाता पर्ने एक ५१ वर्षीय पुरुषसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । अनुसन्धानको क्रममा सो घटना गाउँघरमै मिलापत्र गराएको आरोपमा सोही गाउँका वडा सदस्य हिमबहादुर विष्ट समेतलाई प्रहरीले पक्राउ गरेको हो ।
साउन २ गते बिहान ३ बजेको समयमा घटनापश्चात् पीडित महिला कराएपछि ससुराले थाहा पाएका थिए । प्रहरीका अनुसार पीडितको ससुराले भोलिपल्ट बिहान वडा सदस्य हिमबहादुर बिस्टलाई खबर गरी छलफल गरिदिन आग्रह गरेका थिए ।
वडा सदस्यले गाउँमा कटुवाललाई लगाएर मान्छे जम्मा गर्न लगाएका थिए । साउन ३ गते करिब १ बजेतिरबाट छलफल सुरु भएको थियो । छलफलमा अभियुक्तले आफ्नो गल्ती स्वीकार गरेका थिए । छलफलमा जुटेकाहरूले पीडकलाई बीसहजार रुपैयाँ जरिवाना तोके । जसमध्ये पाँच हजार पीडित महिलाको लागि र बाँकी पन्ध्र हजार रुपैयाँ गाउँको एक कुनै कोषको लागि छुटाउने समेत निर्णय भएको थियो ।
प्रहरीका अनुसार पीडितले पाउने ५ हजारमध्ये एक हजार बराबर छलफलमा जुटेकाहरूले चियापान खाने भनी छुटाए भने पाँचसय पीडितले ससुरालाई मान राख्नको निमित्त दिनुपर्ने भयो । पीडितले त्यसै गरिन् तर उनले न्याय पाएको अनुभूति गरिनन् ।उनले आफ्नो बाबालाई सबै घटनाको बारेमा बेलिबिस्तार लगाइन् । भोलिपल्ट साउन ४ गते प्रहरी समक्ष यो घटनाको सूचना पुग्यो । पीडितको जाहेरीका आधारमा अभियुक्त भनेका पीडितको जेठाजु नाता पर्नेलाई तत्काल नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान ग¥यो ।
रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार बलात्कार गर्ने आरोप लागेका जेठाजु पुर्पक्षका लागि जेल चलान भएका छन् भने वडा सदस्यलाई एक लाख ५० हजार धरौटीमा छोडिएको छ । अन्य ससुरासहित तीन जनालाई ३० हजार धरौटी ४ जनालाई ६० हजार धरौटी लिएर छोडिएको छ । (नागरिक दैनिकबाट)