निर्वाचन आयोगले जसपा फुटाएको राजेन्द्र महतोको आरोप


काठमाडौँ, ११ श्रावण । जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । सोमवार आयोगमा भएको मतदान पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता महतोले यस्तो आरोप लाएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यसमेत रहेका राजेन्द्र महतोले पार्टीको आधिकारिकता भनेको कार्यकारिणी सभामा भएका ५१ जना सदस्यले मात्र गर्ने काम नभएको बताएका छन् । 

नेता महतोले आफूहरूले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले पार्टी विभाजन गरिदिएकोमा दुःखसमेत व्यक्त गरेका छन् ।  उनले भने ‘दल जनताबाट निर्माण हुने हो । ५१ जना मात्र दल होइन भन्ने सम्पूर्ण नेपाली जनताले बुझेका छन् । हामीले विभाजनका लागि प्राविधिक काम यहाँ गर्यो, यो दुर्भाग्यपूर्ण काम हो ।’

निर्वाचन आयोगको जसपामा विवादको टुङ्गो कार्यकारिणी समितिमा भएका सदस्यको सङ्ख्याका आधारमा गरिने फैसला पछि सोमवार भएको ‘हेड काउन्ट’मा जसपाका बहुसङयक सदस्यले उपेन्द्र यादव पक्षलाई समर्थन गरेका छन् । यससँगै जसपाको आधिकारिकता यादव पक्षले पाउने पक्का भएको छ । 

प्रतिक्रिया दिनुहोस्