देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय


काठमाडौँ, १ श्रावण । नेकपा (एमाले)ले वर्तमान देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रवार ललितपुरको च्यासलमा बसेको पार्टीको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो ।

केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीका दोस्रो तहका नेताहरूको सक्रियतामा तयार पारिएको १० बुँदे सहमति पत्रलाई अनुमोदनसमेत गरेको छ । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकलाई संवोधन गर्दै आफूलाई जनादेशबाट नभई परमादेशबाट हटाइएको भए पनि अब नेकपा एमाले सक्रिय रूपमा प्रतिपक्षको रूपमा रहने बताएका छन् ।

एमालेकै नेपाल –खनाल पक्षका २६ जना सांसदको सहयोगमा ओली नेतृत्वको सरकार हटाएर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि नेकपा एमालेको पहिलो पटक स्थायी कमिटीको बैठक बसेको हो । 

बैठक स्थगित गर्न गरिएको आग्रहलाई ओली पक्षले नमाने पछि बैठक चलिरहेको बेलामा बैठक स्थलमा आएका कार्यदलमा रहेका नेपाल –खनाल पक्षीय नेताहरू फर्किएका थिए । 

वरिष्ठ नेता माधव नेपालले देउवा नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने बताइरहेको बेलामा स्थायी कमिटीको यो निर्णयलाई महत्त्वका साथ हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्