लुम्बिनी प्रदेश सभा अधिवेशन मध्यरातमा अन्त्य : बजेट पारित हुन सकेन


 रुपन्देही, १ साउन। बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेशसभाको चालु आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।

बिहीबार आर्थिक वर्ष २०७८\०७९ को बजेट पारित गर्ने कार्यक्रम थियो तर बजेट पारित हुने अवस्था नआए पनि बजेट पेस गर्नु अगावै सत्ता पक्षका सांसदहरू नै सदन छाडेर बैठकबाट बाहिरिएका थिए । धेरै प्रयास गर्दा पनि बजेट पास हुने अवस्था नआए पछि मध्यरातमा अधिवेशन अन्त्य भएको सूचना आएको थियो । यसअघि सभामुखले बिहीबार साँझ साढे ५ बजे बैठक बस्ने गरी तोकेका थिए । 

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले पटक–पटक अविश्वास प्रस्ताव दर्ता गराउँदै आएका छन् । । अल्पमतमा परेका मुख्यमन्त्री पोखरेले प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेका छन् । 

८३ सदस्यीय प्रदेश लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसद चाहिन्छ । तर, एमालेका ३८ र जसपाका तीन जना गरी सत्तापक्षमा ४१ जना सांसद मात्र छन् । यहाँ सभामुखको मत निर्णायक मानिन्छ । सभामुख पूर्णबहादुर घर्ती माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्