एमाले विभाजन रोक्न खोज्दा आफूले विभिन्न धम्कीको सामना गर्नु परेको नेता भीम रावलको भनाइ


काठमाडौँ, ३० असार । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेलाई विभाजनबाट रोक्न कार्यदलमा रहेर काम गर्दा आफूले विभिन्न धम्की र आलोचनाको सामना गर्नु परेको बताएका छन् । 

कार्यदलका संयोजकसमेत रहेका रावलले आज एक प्रेस विज्ञप्ति निकाल्दै पार्टीलाई फुटबाट जोगाउन आफूले गरेको प्रयासलाई निस्तेज पार्ने अनेक षडयन्त्र भएको बताएका छन् ।

उनले आफूलाई षडयन्त्र मूलक ढङ्गले भारतीय गुप्तचरसँग भेटेको र केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार गरिएकासमेत गरिएको बताउँदै भनेका छन् ‘मेराविरुद्ध उक्त प्रकारको कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा (एमाले) लाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरूबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ ।’ 

नेता रावलले यसक्रमा आफूलाई विभिन्न राजनैतिक पार्टीबाट आएका ती फोनकलहरूकोसमेत सम्झना गरेका छन् ।  नेकपा एमालेका दोस्रो तहका नेताहरूको सक्रियतामा १० बुँदे सहमति पत्र तयार भएको छ ।

रावल, विष्ट, नेङ्वाङ, ज्ञावलीजस्ता दोस्रो तहका नेताको प्रयासले गर्दा अन्ततः नेकपा एमाले विभाजनबाट जोगिएको बताइए पनि पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले हस्ताक्षर गर्न बाँकी नै रहेको छ । 

प्रतिक्रिया दिनुहोस्