संविधानको धारा नै उल्लेख नगरी देउवा प्रधानमन्त्रीमा नियुक्त


 काठमाडौँ, २९ असार । शेरबहादुर देउवा आज पाँचौँ पटक प्रधानमन्त्रीको रूपमा नियुक्त भएका छन् । सर्वोच्च अदालतले सोमवार राष्ट्रपतिका नाममा परमादेश जारी गर्दै २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

सर्वोच्चले तोकेको समय अगावै प्रधानमन्त्री त नियुक्त गरियो तर उनलाई संविधानको कुन धारा अन्तरगत प्रधानमन्त्री नियुक्त गरिएको हो त्यो भने उल्लेख गरिएको छैन । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८-०३-२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली काँग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका देउवालाई संविधानको कुन धाराअनुसार प्रधानमन्त्री नियुक्त गरिएको भन्ने कुरा भने राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छैन । 

सिंहदरबारबाट बाहिरिने क्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देउवालाई ‘जनादेशबाट नभएर परमादेशबाट नियुक्त प्रधानमन्त्री भन्नु र राष्ट्रपति कार्यालयबाट पनि संविधानको धारा उल्लेख नै नगरी प्रधानमन्त्री नियुक्त गरिनुलाई फरक ढङ्गबाट हेरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्