‘इतिहास झल्कने संरचनालाई पुरानै मोडलमा पुनर्निर्माण गरिने छ, प्रधानमन्त्री ओली


सिन्धुपाल्चोक, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले इतिहास झल्कने संरचनालाई पुरानै मोडलमा पुनर्निर्माण गर्ने बताएका छन् । प्रधानमन्त्रीले हिजो (शनिवार) मेलम्चीका बाढी पीडितहरूसँग अन्तरक्रिया गर्ने क्रममा उक्त कुरा बताएका हुन् ।

विभागीय मन्त्री र उच्च सरकारी टोलीसहित मेलम्ची पुगेका प्रधानमन्त्री ओलीले बाढी पहिरोले पुगेको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका थिए । बाढीले मेलम्ची नदीमाथि १९८६ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरे निर्माण गरेका झोलुङ्गे पुलसमेत बगाएकोमा दुःख व्यक्त गर्दै इतिहास झल्काउने संरचना त्यही पुरानै मोडलअनुसार पुनर्निर्माण गरिने प्रतिबद्धता जनाएका थिए ।

स्थानीयले बाढीले क्षतिग्रस्त पुलहरूको बदलामा बेलीब्रीज निर्माणका लागि आग्रह गरेका थिए तर प्रधानमन्त्री ओलीले बेली ब्रिज नभएर सबै स्थानमा पक्की पुल नै निर्माण गरिने बताए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त संरचनाको काम चाँडो सुरु गर्ने विभागीय मन्त्रीलाई निर्देशनसमेत दिएका थिए । 

असार १ गते आएको बाढी पहिरोले मेलम्चीमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको थियो । बाढी पहिरोबाट देशभरमा अहिलेसम्ममा ५१ जनाको ज्यान गइसकेको छ भने २९ जना बेपत्ता छन् । सयको हाराहारीमा घाइते रहेका छन् । बेपत्ता हुनेमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमै रहेका छन् । सिन्धुपाल्चोकको बाढी पहिरोमा परेर २० जना अझैँ हराइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्