किन नवीकरण गरेनन् काँग्रेसका ५० हजार क्रियाशील सदस्यले आफ्नो सदस्यता ?


काठमाडौँ, २६ असार ।  काँग्रेसमा नयाँ क्रियाशील सदस्य लिनेमा लहर देखाए पनि पुराना क्रियाशील सदस्यहरूले भने नवीकरणमा अनिच्छा व्यक्त गरेका छन् । १३ औँ महाधिवेशनमा रहेका चार लाख ७० हजार क्रियाशील सदस्यमध्ये यस पटक चार लाख २० हजारले मात्रै आफ्नो सदस्यता नवीकरण गर पछि यो रहस्य बाहिर आएको हो ।

यतिखेर आसन्न १४ औँ महाधिवेशनका लागि मतदाताको अन्तिम टुङ्गो लगाउन काँग्रेसको क्रियाशील सदस्यता छानबिन समिति व्यस्त छ । नेता रमेश लेखक संयोजकत्वको सात सदस्यीय छानबिन समितिले रातदिन नभनी काम गरेर क्रियाशील सदस्यतामा देखिएका समस्या समाधान गरिरहेको छ ।

१४ औ महाधिवेशनमा काँग्रेसले दश लाख क्रियाशील सदस्य पुर्‍याउने उद्देश्य राखे पनि अहिलेसम्म साढे आठ लाखको नाम सूचीकृत भएको छ । पुराना सदस्यको नवीकरणमा उदार हुने नीति अवलम्बन गरे पनि अहिलेसम्म चार लाख २० हजार जनाले मात्रै सदस्यता नवीकरण गरेको क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिएका छन् । 

पार्टी सदस्यता त्याग गरेकामध्ये पार्टी छाडेर जाने र मृत्युवरण गर्नेहरू र कतिपय सदस्यहरू विदेश गएकाहरू रहेका छन् । यति धेरै जनाले क्रियाशील सदस्यता त्याग्नुलाई यी माथिका कारणलाई मात्र  मान्न नसकिने जानकारहरू बताउँछन् । 

काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँ हुने कार्यतालिका छ । त्योभन्दा अघि तल्ला तहको अधिवेशन भइसक्नुपर्छ । साउन १२ गते वडा तहको अधिवेशन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्