काठमाडौँ, २५ असार । पूर्व माओवादी केन्द्रका नेताहरूले पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुलाई माओवादी केन्द्रले हास्यास्पद रहेको बताउँदै यसलाई लोभी पापीहरूको खेलको रूपमा लिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएपछि पार्टीबाट यस्तो प्रतिक्रिया आएको हो । पार्टीले शुक्रवार विज्ञति निकाल्दै पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानुनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद रहेको बताएको छ ।
पार्टीको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ । संविधान, कानुन, विधि, विधान विपरीत दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अङ्ग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौँ ।’
बुधवार मात्र माओवादी केन्द्र पार्टी छाडेर एमालेमा प्रवेश गरेका पूर्व माओवादी केन्दका नेताहरू टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतकाले निर्वाचन आयोगमा पार्टी खारेजीको माग गर्दै निवेदन दिएका थिए । आज तिनै नेताहरूले निर्वाचन आयोगमा पुगेर चाँडो निर्णय गर्न माग गरेका थिए ।