विराटनगर, २३ असार । धनकुटा औद्योगिक ग्रामको सञ्चालक समिति अध्यक्षमा पाख्रीवास १ का घनिन्द्र न्यौपाने नियुक्त भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर १ ले मङ्गलवार न्यौपानेलाई औपचारिक रूपमा नियुक्ति पत्र दिएका हुन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले नियुक्ति पत्र प्रदान गर्दै न्यौपानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रदेश सरकारद्वारा सञ्चालनको तयारीमा रहेको धनकुटा औद्योगिक ग्राम पहिलो भएकाले यसको विकास र उन्नयनमा महत्वपूर्ण भूमिका खेल्नसमेत न्यौपानेलाई निर्देशन दिएका छन् । मन्त्रालयका सचिव मेघनाथ काफ्लेले नवनियुक्त अध्यक्ष न्यौपानेलाई बधाई व्यक्त गर्दै औद्योगिक ग्रामको विकासमा उल्लेख्य काम गर्न मन्त्रालयले महत्वपूर्ण जिम्मेवारी दिएको ध्यानाकर्षण गराएका थिए ।
प्रदेश १ सरकारको गठन भएसँगै जिल्ला स्तरमा सञ्चालित साबिकको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयहरू सङ्घद्वारा प्रदेश सरकारमा हस्तान्तरण भएका हुन् । सोही अनुसार निर्माणाधीन औद्योगिक ग्रामको सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकार उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत घरेलु तथा साना उद्योग विकास कार्यालय धनकुटाले गर्नेगरी नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अख्तियारी दिएसँगै मन्त्रालय सञ्चालनको तयारीमा जुटेको छ ।
प्रदेश सरकारको मन्त्रालयले जारी गरेको धनकुटा औद्योगिक ग्राम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ अनुसार धनकुटा स्थायी बसोबास भई कम्तिमा २ वर्ष उद्योग सञ्चालन गरेको अनुभव प्राप्त एक व्यक्ति अध्यक्ष रहने गरी सदस्यहरूमा धनकुटा नगरपालिका उद्योग तथा उद्यम शाखा प्रमुख वा नगरपालिकाले तोकेको अधिकृत स्तरको एक प्रतिनिधि, उद्योग वाणिज्य सङ्घको प्रमुख वा निजले तोकेको एक प्रतिनिधि, जिल्ला समन्वय समिति सदस्य मध्ये उद्यमसित सम्बन्धित एक महिला प्रतिनिधि, घरेलु तथा साना उद्योग महासङ्घले तोकेको प्रतिनिधि, औद्योगिक ग्रामभित्र उद्योग गर्ने महिला उद्यमीबाट महिला, दलित, जनजाति वा पिछडा वर्गको प्रतिनिधित्व हुनेगरी दुई जना प्रतिनिधि र कार्यालय प्रमुख सदस्य सचिव रहनेगरीको व्यवस्था गरेको छ । सोही कार्यविधि अनुसार औद्योगिक ग्रामको अध्यक्षमा न्यौपाने आगामी २ वर्षको लागि नियुक्त भएका हुन् ।
गत वैशाख १९ गते नै उनको नियुक्ति निर्णय भएता पनि कोरोना महामारी र निषेधाज्ञाको असहज अवस्थाले गर्दा मन्त्रालयले नियुक्ति पत्र दिइएको थिएन ।