ओलीले दिएको समय सीमामा ‘अल्टिमेटम’ आज सकिँदै : हस्ताक्षर फिर्ता नहुने पक्का


काठमाडौँ, २१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षलाई सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज सकिँदै छ । 

नेपाल –खनाल पक्षलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट पार्टीका निवर्तमान सांसदको हस्ताक्षर फिर्ता गराउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सम्मको समय सीमा दिएका थिए । यदि सोमबार सम्ममा हस्ताक्षर फिर्ता नभए पार्टी एक हुन नसक्नेसमेत बताउँदै आएका छन् । तर यो समय सीमामा नेपाल –खनाल पक्षबाट हस्ताक्षर फिर्ता हुन सम्भावना देखिएको छैन । 

नेपाल –खनाल पक्षले भने अवैधानिक रूपमा बोलाएको बैठकको निर्देशन नमान्ने बताउँदै आएका छन् । उक्त समूहले बैठक नै बसेर अवैधानिक तवरबाट बोलाइएको बैठकमा नजाने र हस्ताक्षर पनि फिर्ता नहुने अडान लिँदै आएको छ । 

कानुनी रूपमा एमाले एक भए पनि व्यवहारिक रूपमा भने पार्टी दुई चिरामा विभाजित देखिएका छन् । 

प्रतिक्रिया दिनुहोस्