काठमाडौँ, १६ असार । वर्तमान केपी शर्मा ओलीको नेतृत्वको सरकार अवैधानिक भैसकेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् । नागरिक समाजका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले उक्त कुरा बताएका हुन् ।
वर्तमान सरकार कामचलाउ मात्रै नभएर अवैधानिक भइसकेकाले बताउँदै प्रचण्डले अब बन्ने नयाँ सरकारले यस सरकारले गरेका महत्त्वपूर्ण निर्णय र नियुक्तिहरू खारेजी गर्नेसमेत बताए ।
नागरिक समाजका अगुवाहरूले उठाएका सवालको जवाफ दिँदै उनले भने ‘यो अवैधानिक सरकार हो । यसले गरेका निर्णयहरू खारेज गरिन्छ । यो सरकारले गरेका भ्रष्टाचार र अनियमितताका कार्यहरूको खोजी हुन्छ, र दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाइन्छ ।’
देश ‘कोभिड– १९ को महामारीले आक्रान्त भएको बेलामा सरकारको प्राथमिकता जनताको जीवन रक्षा केन्द्रित हुनु पर्नेमा त्यसो हुन नसकेकोले आरोप लाउँदै अब बन्ने विपक्षी गठबन्धनको नयाँ सरकारले जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् ।
उनले यो दलीय एकता पछिसम्म पनि रहने पनि विश्वास दिलाएका छन् । उक्त अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको समेत सहभागिता रहेको थियो ।