काठमाडौँ, ५ असार । इन्डोनेसियामा कोरोनाविरुद्धको खोप लगाउने नागरिकका लागि स्थानीय निकायले जिउँदो कुखुरा दिने भएका छ । पश्चिमी जाभास्थित किआन्जर सहरमा ल्याइएको यो कार्यक्रम ४५ वर्षभन्दा माथि उमेरका नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्नका लागि सुरु गरिएको हो ।
सो उमेर समूहका मानिस खोप लगाउन एकदमै हिचकिचाइरहेकाले यस्तो गर्नु परेको सहायक पुलिस कमिसनर गलिह अप्रिआ बताउँछन् । उनले भने, ‘सुरुवातमा खोप आउँदा मानिसहरूमा एकदमै गलत जानकारी र भ्रामक सूचनाहरू फैलिएको थियो । विशेष गरी अनलाइन र सामाजिक सञ्जालमा त्यस्ता गलत सूचनाको प्रवाह व्याप्त भइसकेको थियो । यसमा ४५ वर्ष माथिकाहरु कोभिड–१९ विरुद्धको खोपले कोरोना भाइरसबाट जोगाउनुको सट्टा उल्टै उनीहरूलाई गम्भीर बिरामी पारेर मृत्यु समेत हुन सक्छ भन्ने सोचिरहेका थिए ।’ यही कारण त्यहाँको प्रहरीले निःशुल्क कुखुरा वितरणको अभियान सुरु गरेको हो ।
यसरी कार्यक्रमका सुरु हुनु अगाडि २०० मध्ये केबल २० जना बासिन्दा मात्र खोप लगाउन अघि सरेका थिए । तर अहिले भने हरेक दिन २५० जनासम्म सुइँ लगाउन आउने गरेको उनले बताए । त्यसरी कुखुरा दिनुले ज्येष्ठ नागरिकहरूप्रति सद्भाव र सम्मान व्यक्त गरिएको आभास गराउने गलिह बताउँछन् ।
हालसम्म निकायले यस कार्यक्रममार्फत ५०० वटा कुखुरा वितरण गरिसकेको बताएको छ । उनीहरूले यस अभियानलाई थप विस्तार गर्ने योजना बनाइरहेको पनि बताए । गलिह भन्छन्, ‘यसमा हामीले खोपको फाइदा र सुरक्षा सम्बन्धी सबै मानिसहरूलाई विस्तृतमा व्याख्या गरेर बुझाउनुपर्ने हुन्छ अनि मात्र उनीहरू खोपसँग डराउन छाड्ने छन् । यसका लागि हामी सबैको ढोका–ढोकामा गएर खोप लगाउन प्रोत्साहन गरिरहेका छौँ ।’
त्यहीँ बस्ने एक ज्येष्ठ महिलाले सीएनएनसँग बोल्दै आफूलाई खोप लगाउनु पर्छ या पर्दैन भन्ने पहिले थाहा नभएको तर अहिले यस वापद् कुखुरा पाउँदा अत्यन्तै खुसी लागेको बताइन् । यो कार्यक्रम पश्चात् नागरिक खुसी भएको प्रतिक्रिया जनाउँदा आफूहरूमा पनि अधिक हौसला मिलेको गिलह बताउँछन् । उनले भने, ‘ज्येष्ठ नागरिकहरू कुखुरा पाउँदा खुसी भएको देख्दा हामीलाई पनि खुसी लागेको छ र अर्कोतर्फ हामीले यसमार्फत उहाँहरूलाई भाइरसबाट पनि सुरक्षित राखिरहेका छौँ ।’
यसमा आर्मी र स्वास्थ्यकर्मी मिलेर पुलिसलाई खोप वितरण गर्न र तत्काल सुइँ लगाउने प्रबन्ध मिलाउन सहायता गरिरहेको पनि उनले जानकारी दिए । इन्डोनोशियामा कोरोनाबाट झन्डै २० लाख सङ्क्रमित भएका छन् भने ५३ हजारको यसबाट मृत्यु भएको तथ्याङ्क छ ।
पछिल्लो समय घना बस्तीयुक्त दुई प्रमुख टापुमा सङ्क्रमित बढ्ने क्रम रहेको पाइएको छ । यता, खोप अभियान भने सुस्त गतिमा अघि बढिरहेको छ । यसमा लक्षित गरिएको ५० वर्ष माथिका २० प्रतिशत भन्दा थोरै नागरिकमा मात्र पहिलो डोज खोप लगाइसकिएको छ । (सीएनएन)