तेह्रथुममा फौजी किराको प्रकोप, किसान चिन्तित


तेह्रथुम, ४ असार । तेह्रथुम जिल्लाको ग्रामीण क्षेत्रमा किसानहरूले मुख्य खेती नै मकै हो । मकैखेती नै जीविकोपार्जन गर्ने अन्नबाली हो । कहिले खडेरी त फौजीको प्रकोप । विभिन्न समस्या ग्रसित बन्दै आएका छन् किसानहरू । 

अघिल्लो वर्ष पनि फौजी किराको मारमा परेका किसानहरू यो साल पनिकिराले मकै सखाप पारेपछि चिन्तित बन्न थोलेका छन् । यसबर्ष समयमै पानी परेकोले मकै राम्रो उत्पादन हुने आशा गरेका किसानहरू निरास बनेको छथर गाउँपालिका ३ पञ्चकन्याका गीता थापा बताउँछिन् ।

कोभिड १९ कोरोना भाइरसका कारण देश नै अस्तव्यस्त बनिरहेको बेला किसानको खेतीमा किराको प्रकोपका कारण मकै उत्पादनमा कमी आउने देखिएको छ । अन्य आम्दानीको श्रोत नहुँदा अन्नबाली कै भरमा रहेका किसानहरूलाई भने यो समस्या झनै ग्रसित बनाउने भएको छ । गतबर्ष पनि किराले मकै लगायत अन्नबाली नष्ट गर्दा परिवार धान्नै समस्या भोग्दै आएका थिए ।वन्यजन्तुको हैरानीका कारण आजित बन्दै आएका यहाँका स्थानीयहरूलाई प्राकृतिक प्रकोपका कारण समस्या माथि समस्याले ग्रसित बन्दै आएका छन् ।

बल बहादुर श्रेष्ठले यसबर्ष राम्रो कमै उत्पादन हुनेमा ढुक्क थिए तर किराले क्षति गर्न थालेपछि निराश बनेका छन् । थापा र श्रेष्ठ जस्ता यहाँ धेरै किसानहरूको समस्या उस्तै छ ।अन्नबाली तथा तरकारी बालीमा यो किराले क्षति गर्ने गरेको पाइन्छ ।

किराको प्रकोप बढ्न थाले पनि स्थानीय सरकार नियन्त्रणको प्रयासमा जुट्दै आएको छ । जिल्लाको लालीगुराँस नगरपालिका र छथर गाउँपालिकामा रोगको प्रकोपले मकै बालीमा क्षति गर्न थालेपछि स्थानीय सरकार नियन्त्रणको प्रयासमा जुट्न थालेको हो ।

मकैको पहिलो गोडाईकै बेला किराले नष्ट गर्न थाले पनि खाद्यान्न सङ्कट हुन सक्ने भएको किसानहरू बताउँछन् । किराको प्रकोपका कारण मकै नष्ट गर्न थालेपछि लालीगुराँस नगरपालिकाले किसानहरूलाई औषधि प्रदान गरेको नगरपालिका उपप्रमुख तीला पोख्रेलले बताईन ।

खेतीको सुरुमै प्रकोपले सताउन थालेपछि ५० प्रतिशत अनुदानमा औषधि दिन थालिएको छथर गाउँपालिका कृषि शाखाका प्रमुख हिमबहादुर थापाले बताए । मकैमा किराको प्रकोप देखिएपछि औषधिको माग गर्दै कृषि कार्यालयहरूमा किसानहरू पुग्ने गरेका छन् । स्थानीय सरकारले साझेदारीमा किसानलाई औषधि दिँदै आएको जनाएका छन् ।

बर्षेनी यसरी किराले अन्नबालीमा क्षति गर्दै जाने हो भने यहाँका किसानहरूलाई खाद्यान्न उत्पादनमा सङ्कट सिर्जना हुने देखिन्छ । किराले खेती बालीको पात, गुभो, फललगायत खाएर क्षति पु–याइरहेको छ ।छिटो विस्तार हुने र छिटो आक्रमण गरी सखाप पार्ने हुँदा यो कृषि क्षेत्रमा ठूलो चुनौतिका रूपमा देखा परेको छ । कोरोनाले आक्रान्त बनेका किसानमा फौजी किराको सङ्क्रमण थपिएको छ । (-प्रकाश पाक्सावा, हाम्रो सवाल)

प्रतिक्रिया दिनुहोस्