विराटनगर, ३० जेठ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चालु बजेट अधिवेशनबाटै प्रदेश १ को नामकरणको प्रक्रिया सुरु गर्ने बताएका छन् । आइतबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले उक्त कुरा बताएका हुन् ।
मुख्यमन्त्री राईले सम्बोधन गर्दै भने ‘माननीयज्यूहरूले नामकरणको कुरा धेरै उठाउनुभएको छ’, उनले भने, ‘म प्रस्ताव गर्न चाहन्छु, यही अधिवेशनबाटै नाम टुङ्गो लगाऊ । बजेटमाथिको छलफल सकिएको भोलिपल्टबाट त्यसबारे छलफल सुरु गरौँ ।’
पछिल्लो समय प्रदेश नामकरण हुन नसक्दा प्रदेश सरकार तथा पुरै प्रदेशसभा नै आलोचना खेप्दै आएको छ ।