काठमाडौँ, ३० जेठ । विपक्षी गठबन्धनमा रहेका पूर्व प्रधानमन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तालिप्साको असली रूप देखाएको आरोप लाएका छन् ।
काँग्रेससहित विपक्षी गठबन्धनमा रहेका पाँच जना पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले (शनिवार) एक संयुक्त वक्तव्य जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।
काम चलाउ भैसकेको व्यक्तिले अध्यादेशबाट बजेट घोषणा गर्नु, सरकारको नीति तथा कार्यक्रमझैँ प्रधानमन्त्रीले वाचन गरेर सार्वजनिक गर्नु, राष्ट्रिय सहमति नगरी अत्यन्त संवेदनशील विषयमा स्वेच्छाचारी किसिमले कार्यदल गठन गर्नु र मन्त्रिपरिषद्को मनपरी किसिमले पटक–पटक विस्तार गर्नु ओलीको सत्तलिप्साको पराकाष्ठाको हो भनेका छन् ।
गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक भनी सर्वोच्च अदालतले ठहर गरेको अवस्थामासमेत पुनः दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्रीले आफ्नो निरङ्कुश, स्वेच्छाचारी र प्रतिगमनकारी चरित्र उदाङ्गो पारेको पनि आरोप लाएका छन् ।
सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र नभएर महान्यायाधिवक्तामार्फत धम्क्याउने जस्ता अलोकतान्त्रिक कार्यहरू प्रधानमन्त्री केपी ओलीबाट भएको आरोप लाउँदै यस्ता कार्यहरूको भर्त्सना समेत गरेका छन् । उनीहरूले कोरोना महामारीप्रति सरकार गम्भीर नभएको पनि आरोप लाएका छन् ।