गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा ढल्यो एमाले सरकार


पोखरा, २७ जेठ । मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न नसके पछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभाबाट विश्वासको मत नपाए पछि एमाले नेतृत्वको सरकार ढलेको  हो । 

यससँगै पृथ्वीसुब्वा गुरुङ पदमुक्त भएका छन् । बिहीबार भएको मतदानमा गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । यसअघि प्रदेश सभामा रहेको ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको पुनः शपथ लिएका थिए ।

गण्डकी प्रदेश सभामा ६० सदस्य रहेको छ । मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । तर उनले २७ मत मात्र पाएका थिए । 

युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशसभा बैठकमै उपस्थित नभएकाले मतदान प्रक्रियामा पनि सहभागिता जनाएनन् भने यसअघि मुख्यमन्त्री गुरुङलाई मतदान गर्ने बताउँदै आएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पनि मतदानमै भाग नलिई तटस्थ बसे । 

प्रतिक्रिया दिनुहोस्