गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै


पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने कार्यक्रम रहेको छ । आजको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार मध्याह्न १२ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

गुरुङ आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि नै आफ्नो पदबाट राजीनामा दिए पनि प्रदेश सभामा रहेको ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए ।

संवैधानिक व्यवस्था अनुसार एक महिना भित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । त्यही कानुनी प्रावधानमा टेकेर उनले विश्वासको मत लिन लागेका हुन् । गण्डकी प्रदेश सभामा ६० सदस्य रहेको छ । मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । 

अघिल्लो पटक बोलाइएको बैठकमा पनि विश्वासको मत लिन लगभग असफल देखिएका गुरुङले अहिले पनि अवस्था ज्युँका त्युँ रहेको छ । यदि कुनै चमत्कार भएन भने गण्डकी प्रदेशमा गुरुङ नेतृत्वको सरकार ढलेर विपक्षी गठबन्धनको सरकार बन्ने पक्का देखिएको छ । 

गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्